लोकतन्त्र बचाउन गठबन्धन आवश्यक: सभापति पुन

गठबन्धनले एमालेलाई कुनै फरक पार्दैन: नेता न्यौपाने

बुटवल । लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूले मतको आधारमा उम्मेदवारी बाँडफाँडको तयारी गरेका छन् । विगतको मतको आधार, उम्मेदवारीको लोकप्रियता आधारमा तालमेल गरेर चुनावी मैदानमा जाने अन्तिम तयारीमा रहेको नेताहरूले बताएका छन् ।

रिर्पोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलले आयोजना गरेको स्थानीय तहमा दलहरूको राजनीतिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्ने दलका नेताहरूले यस्तो बताएका हुन् । साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनले गठबन्धन दल भित्र पार्टीहरूले आआफ्नो मत आधार संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने बताए । लुम्बिनी प्रदेशमा गठबन्धनको अत्यधिक बहुमत आउने दाबी गरे ।

सभापति पुनले गठबन्धन दलहरूले चुनावी तालमेलमा अक्षरशः पालना गर्ने बताए । उनले भने, देश र जनतालाई समृद्धि बनाउँछौँ भन्ने एमालेले संसद् बैठकलाई अवरोध गरेर जनताका आवाजलाई कुण्ठित गरेको आरोप लगाए ।

गठबन्धनले एमालेलाई कुनै फरक पार्दैन: नेता न्यौपाने
नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले लुम्बिनी प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशत जित हात पार्ने दाबी गरे । प्रदेशका १ सय ९ वटा पालिकाहरूको सर्वेक्षण अनुसार ६० प्रतिशत भन्दा धेरै जित हासिल गर्ने ठोकुवा गरे । उनले एमाले जनताको प्रिय पार्टी भएकाले जस्तो सुकै गठबन्धनले फरक नपार्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्रका संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्तीले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने जोड दिए । प्रदेशका सबै स्थानीय तहहरूमा आफ्नो पार्टीले सर्कुलर गरेको र जसअनुसार पालिकामा निर्वाचन संयन्त्र परिचालन समिति गठनको छलफल भइरहेको बताए ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य छन्द पन्थीले ठूला दलका नेताहरूले झुटको राजनीति गर्दै आएको बताए । उनले ठूला दलको होडबाजीले गठबन्धन निर्माण भएको बताए । निर्वाचनका वेला मिठा भाषण र जनतालाई आश्वासन दिने दलहरूले निर्वाचन पश्चात् प्रतिबद्धता पुरा नगर्ने गरेको भन्दै बेइमानीको राजनीति नगर्न सुझाव दिए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *