माधवले भने- प्रधान मन्त्री भाजपाको पार्टी कार्यालय जान हुँदैनथ्याे
'देशका निम्ति, लोकतन्त्र र संविधानका निम्ति ओली घाँडो हुन्'

विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘घाँडाे’ काे संज्ञा दिएका छन् । साेमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्न विराटनगर आएका उनले यस्ताे बताएका हुन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेपालले भनेका छन्— ‘देशका निम्ति, लोकतन्त्र र संविधानका निम्ति केपी ओली घाँडो हुन् ।’ नेपालले ओली परिवर्तनकाे विराेधी भएकाेसमेत आराेप लगाए ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मिल्नेसम्म गठबन्धन हुने उनले बताए । ‘आवश्यकताका आधारमा कहाँसम्म मिल्छ, त्यहाँसम्म गठबन्धन हुन्छ,’ उनले भनेका छन्, ‘गठबन्धन गर्नु हुँदैन भन्नेलाई एक्लै उठ्न दिनुपर्छ ।’
पूर्वप्रधान मन्त्रीसमेत रहेका नेपालले प्रधान मन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भाजपाको पार्टी कार्यालय जानु ठिक नभएको बताए । आफूलाई सो कुरा व्यक्तिगत रूपमा ठिक नलागेको उनले बताए । ‘म पनि प्रधान मन्त्री भइसकेको व्यक्ति हुँ । देशको प्रतिनिधि भएर पार्टी कार्यालय जानु ठिक भएन । पार्टीगत रूपमा भाजपाकाे कार्यालय गएको भए ठिकै हो ।’
चैत १८ गते भारतकाे ३ दिने भ्रमणमा गएका प्रधान मन्त्री देउवा भारतीय जनता पार्टी [भाजपा]काे मुख्यालय पुगेका थिए । यसकाे नेपालमा पनि आलाेचना भएकाे थियाे । कूटनीतिक रूपमा त्यहाँ जान ठिक नभएकाे तर्कहरू गरिएका थिए । प्रधान मन्त्रीकाे हैसियतमा भारत पुगेका उनले भाजपाकाे मुख्यालय पुग्नु ठिक नभएकाे नेपालले पनि बताएका हुन् ।








