त्रिवि दलित युनियनद्वारा डा. विष्णुमाया परियार सम्मानित

काठमाडाैँ । सामाजिक अभियन्ता, मानवाधिकार, घरेलु हिंसा र दलित अधिकारका बारेमा राष्ट्रिय योगदान दिएकी र अन्तर्राष्ट्रिय छवि बनाएकी डा. विष्णुमाया परियारलाई त्रिवि दलित युनियनले सम्मान गरेकाे छ । गत शनिवार एक विशेष सम्मान तथा बधाई कार्यक्रमकाे आयाेजना गरेरै युनियनले परियारलाई सम्मान गरेकाे हाे ।
त्रिवि परिसरमा भएकाे कार्यक्रममा परियारलाई कर्णाली प्रदेश सांसद दानसिंह परियार र ‘आत्मसम्मान, मर्यादा,समता अनि सभ्यता सबैको बराबरी’ अभियानकर्मी संजिव कार्कीले सम्मान गरेका थिए ।
प्रसिद्ध अमेरिकी प्रकाशक म्याकग्रो हिलले डाक्टर लिसा राइट ओफ्नरद्वारा लिखित ‘द राइटर्स माइण्डसेट’ पुस्तकमा डाक्टर विष्णुमाया परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरेको छ । दि राइटर्स माइण्डसेट पुस्तकको ६९२ पृष्ठमा विश्वका चर्चित ५२ जनाको जीवनी समावेश छ, जसमध्ये ५९१-५९४ बीच चार पृष्ठमा परियारकाे जिवनी छ । जसलाई विश्वका ११ सयभन्दा बढी विद्यालय, कलेज र विश्वविद्यालयमा पढाइन्छ ।

अमेरिकामा २७ सेप्टेम्बरलाई ‘विष्णुमाया डे’ घोषणा गरिएकाे छ ।
कार्यक्रमका वक्ताहरूले नेपाली पाठ्यपुस्तकहरूमा पनि परियारकाे जीवनी राखिनुपर्ने र विद्यालयीय शिक्षाअन्तर्गत नै पढाइ हुनुपर्ने माग गरे । कार्यक्रमका वक्ता मीमबहादुर परियार र सांसद परियारले संयुक्त रूपमा परियारकाे जीवनी नेपालको शैक्षिक पाठ्यपुस्तकमा राख्नुपर्ने माग गरे ।
सम्मानित परियारले संघर्षकालीन कथा सुनाउँदा दर्शकदीर्घामा आँसु छचल्किएको थियाे । परियारले समेत आँसु राेक्न सकेकी थिइनन् । उनले सम्बाेधनका क्रममा राज्य र समग्र सम्बन्धित संघ/सङ्गठनहरू आफूजस्ता मान्छेहरूबारे बेखबर हुनु अगतिलाे भएकाे बताइन् ।








