‘बुचा नरसंहार’को अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा

काठमाडाैँ । युक्रेनी नगर बुचामा भएको आमहत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले त्यहाँ छरिएका कङ्कालको दृश्य निराशाजनक भएको बताएका छन् ।

जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले स्तब्ध भएको प्रतिक्रिया दिएका छन् भने युरोपेली आयोगकी प्रमुखले रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने प्रतिबद्धता जनाएकी छन् । भिडिओमा सर्वसाधारणहरूको शव सहर र पछाडिका गल्लीहरूमा त्यसै छाडिएको र कतिपयका हात बाँधिएको देखिएको थियो ।

रुसले ती तस्बिरको सत्यताबारे प्रश्न उठाउँदै बुचामा ‘युक्रेनी कट्टरपन्थीका उत्तेजनात्मक’ कदमबारे छलफल गर्न सुरक्षा परिषद्को आपत्कालीन बैठक डाकिनुपर्ने माग गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुस विरुद्धको लडाइँ जित्ने बताएका छन् । युक्रेनी सर्वसाधारणहरूलाई रुसले निशाना बनाएकोमा निन्दा गर्दै एउटा भिडिओ सन्देशमार्फत उनले त्यस्तो बताएका हुन् ।

यसअघि युक्रेनका अभियोजकहरूले चार सय भन्दा बढी शवहरू किएभ नजिकैका नगरहरूमा फेला परेको बताएका थिए । जेलेन्स्कीले रुसले ती क्षेत्रहरूबाट फिर्ता हुने क्रममा युक्रेनीहरूविरूद्ध नरसंहार गरेको भन्दै रुसी अपराधलाई दण्डित गर्न नयाँ प्रतिबन्धहरू मात्रै पर्याप्त नहुने बताए ।

किएभ नजिकैको एउटा युद्ध क्षेत्रबाट रुसी फौजहरू फर्कने क्रममा जथाभाबी हत्या गरिएका दाबी गरिएका छन् । युक्रेनी विदेशमन्त्रीले रुसी फौजले ‘योजनाबद्ध रूपमा नरसंहार मच्चाएको’ दाबी गरेका छन् । उक्त शहरबाट लिइएका तस्बिरमा व्यापक विध्वंश र छरिएका शवहरू देखिन्छन् ।

बीबीसीका जेरमी बोवन भन्छन् युक्रेनी फौजले कम्तीमा २० जना मृत पुरुषका शव फेला पारेको र त्यसमध्ये कतिपयका हात पछाडिबाट बाँधिएको अवस्थामा रहेको बताएका छन् । एउटा अमेरिकी प्रविधि फर्मले बुचामा सामूहिक चिहान पत्ता लगाएको ठाउँमा ४५ फुट गहिरो खाडल रहेको भूउपग्रहका तस्बिरले देखाएको जनाएको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fifteen =