पशुपतिको धर्मसालामा सञ्चालित होटल आनन्दसँगको सम्झौता रद्द

काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगरेकाले सम्झौता रद्द गरिएको हाे ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकासित गरी सम्झौता रद्द भएको जनाएको छ । कोष र प्रालीबीचको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा प्राली (बतास समूह)ले बुझन नमानेको कोषका सदस्य सचिव डा मीलनकुमार थापाले बताए ।
३५ दिनभित्र स्पष्टीकरण सहितको जवाफ पेस गर्न मौका प्रदान गर्न फागुन १ मा पत्राचार गरेकोमा सोको म्यादैभित्र प्रालिले कोषसमक्ष कुनै जवाफ दिएको थिएन । ‘होटेल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार पालना गरेको पाइएन, कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय ग-यो, सम्झौता रद्द भएको पत्र बुझाउन जाँदा बतास समूहले बुझ्न मानेन्,’ सदस्य सचिव थापाले भने ।
बतास समूहले सम्झौता रद्द भएको पत्र बुझन नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मसाला खाली गर्न बिहीबार पत्राचार गरेको थियो ।








