नेपालकाे लगानीमा भारतमा वृद्धाश्रम बन्दै, देउवाले गरे उद्घाटन

वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधान मन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् ।
सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरूका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।
यसैबीच प्रधान मन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले दिवाभोजको आयोजना गरेका छन् । त्यसअघि उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।
प्रधान मन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।








