दैनिक उपभोग्य वस्तुकाे आपूर्ति सहज बनाउन कार्यवाहक प्रधान मन्त्री खाँणको निर्देशन

काठमाडौँ । सरकारले पेट्रोलियमलगायत दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । कार्यवाहक प्रधान मन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री वितरण नरोक्न र पेट्रोलियम सहज उपलब्ध गराउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

कार्यवाहक प्रधान मन्त्री खाँणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई पेट्रोलियमको आपूर्ति सहज बनाउन, अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र सहज उपलब्ध गराउन निर्देशन दिनुका साथै व्यवसायीका समस्या भए सरकारले संवादमार्फत समाधान गर्न तयार रहेको तर समस्या देखाएर अभाव सृजना गरिए कानूनअनुरुप कारबाही गर्ने बताएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

निर्देशन पछि गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाउँदै प्रतिवेदन पठाउन निर्देशन दिइसकेको प्रवक्ता पोखरेलले जानकारी दिए । दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृह मन्त्रालयले आइतबारबाटै ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।

गृह प्रवक्ता पाखरेलकाअनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने अनुगमन समितिले मूल्य बढे/नबढेको, दैनिक उपभोग्य वस्तु अभाव भए नभएको अनुगमन गरेर सबै जिल्लाले मन्त्रालयमा रिपोर्ट पठाउने छन् ।

त्यस्तै मन्त्रालयले उद्योग वणिज्य संघको समन्वयमा बजारमा उपभोग्य वस्तुको आपूर्ति, सहजता र मूल्यवृद्धि नियन्त्रणलगायत विषयमा अनुगमन गर्न र विकृति देखिएमा प्रचलित कानूनअनुरुप सजाय गर्नसमेत निर्देशन दिएको छ ।

पेट्रोलिय पदार्थ आयातमा व्यवसायीहरूले गरेको अवरोध शनिवार मात्रै सहमति भएर टुंगिएको थियो । तर, अहिले पनि उपत्यकाका पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन देखिएपछि सरकारले किन समस्या समाधान भएन भनेर अनुगमन गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *