कैलालीमा चुनावी गठबन्धनबारे राय संकलन गर्दै काँग्रेस

धनगढी । नेपाली कांग्रेस केन्द्रीय समितिले आवश्यकताका आधारमा सत्ता गठबन्धन दलसंग चुनावी गठबन्धन गर्ने निर्णय गरेपछि कैलालीमा पनि आवश्यक तयारी थालिएको छ ।

गठबन्धनको आवश्यकताका सम्बन्धनमा कैलाली काँग्रेसले जिल्लाका १३ वटै स्थानीय तहबाट सुझाव संकलन गरिरहेको जनाएको छ । ‘जिल्लामा कुन स्थानीय तहमामा गठबन्धन आवश्यक छ र कुनमा छैन भन्ने विषयमा हामीले सबै स्थानीय तहमा पुगेर सुझाव संकलन गरिरहेका छौं,’ काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भने, ‘सोही सुझावका आधारमा सम्बन्धित स्थानीय तहमा गठबन्धनको कुरा अगाडि बढ्छ ।’

सचिव सुनारले कांग्रेस केन्द्रीय समितिले ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सक्ने’ निर्णय गर्नुभन्दा अघिबाटै कैलालीमा कांग्रेसले यस विषयमा नेता कार्यकर्तासँग परामर्श लिन सुरु गरिसकेको बताए ।

उनका अनुसार पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायतलाई विभिन्न १० वटा जिम्मेवारी दिएर सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा खटाइएको छ । उनले यस विषयमा चैत्र २ गते निर्णय गर्दै ६ गते जिल्ला पार्टीले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला समिति सदस्यहरूलाई पत्र पठाइएको जिल्ला सचिव नृप सुनारले बताए ।

१३ गते देखि २० गतेसम्म घर दैलो अभियान गर्ने र २२ गते जिल्ला कार्यसमिति बैठकमा प्रतिवेदन पेस गर्न भनिएको छ । वडा तहसम्मै पुगेर कांग्रेस पार्टीको अवस्था तथा काँग्रेसका उम्मेदवारहरूको अवस्थाबारे तथ्यगत सुझाव समेत मागिएको छ ।

सबैबाट आएको सुझावको आधारमा २२ गतेको जिल्ला समिति बैठकले गठबन्धन गर्ने वा नगर्ने निर्णय गर्ने र केन्द्रलाई उक्त जानकारी पठाउने उनले बताए । जिल्ला पार्टी सभापति नारायणदत्त भट्टले नेता कार्यकर्ताहरूबाट आएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गरिरहेको उनको भनाइ छ ।

काँग्रेसको चैत्र २२ गते जिल्ला समितिको बैठक बस्ने र सो बैठकले गरेको निर्णय अनुसार २३ गते बस्ने सत्ता गठबन्धनमा आवद्ध दलबीच छलफलमा प्रस्तुत हुने काँग्रेस कैलालीले बताएको छ । यसअघि सत्ता गठबन्धन दलबीच चैत्र २३ गते दोस्रो चरणको बैठक बस्ने सहमती गरेर पहिलो चरणको बैठक सम्पन्न भएको थियो ।

काँग्रेस कैलालीमा ठूलो संख्यामा नेता कार्यकर्ताहरू गठबन्धन गर्न नहुने पक्षमा देखिएको बताइएको छ । नेता कार्यकर्ताबाट आएको सुझावको आधारमा जिल्लाबाट केन्द्रीय समितिलाई रिपोर्टिङ हुने काँग्रेस कैलालीले जनाएको छ ।
नेपाली काँग्रेस केन्द्रीय समितिले देशभर स्थानीय आवश्यकताको आधारमा सत्ता गठबन्धन दलसंग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *