‘नागरिक सेवा’मा फड्को मार्दै प्रदेश अस्पताल

जटिल हिपजोर्नीको सफल शल्यक्रिया

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-४ कालागाउँमा रहेको हालको प्रदेश अस्पताल २०३० सालमा जिल्ला अस्पतालको रुपमा स्थापना भएको थियो । त्यस समयमा अस्पतालको अवस्था निकै नाजुक थियो । भरपर्दो पूर्वाधार, विशेषज्ञ डाक्टर पनि थिएनन् । त्यो समयमा अस्पतालमा प्राथमिक उपचारबाट मात्रै बिरामीहरूको उपचार हुने गरेको थियो ।

तर, राजनीतिक घटनाक्रमसँगै वीरेन्द्रनगर तत्कालीन क्षेत्रीय सदरमुकामपछि अस्पतालको पनि स्तरोन्नति हुँदै गयो । सुर्खेतका छिमेकी जिल्लाहरू दैलेख, सल्यान र जाजरकोटका बिरामीहरूको लागि पायक पर्ने अस्पताल भएपछि २०६२ साल फागुन ७ गते क्षेत्रीय अस्पतालको रूपमा स्तरोन्नति भएको हो ।

विशेषज्ञ चिकित्सकको अभावमा क्षेत्रीय अस्पतालबाट नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा बिरामीहरू रेफर गर्नुपर्ने बाध्यता कायम रहेको थियो भने आइसियु, एनआइसियु, भेन्टिलेटर जस्ता अत्याधुनिक उपकरणको अभाव हटेको थिएन । पूर्वाधार र जनशक्ति अभावबाट गुज्रिँदै अस्पतालले सेवा दिनुपर्ने अवस्था कायमै थियो । मुलुक संघीय संरचनामा गएपछि २०७५ साल कात्तिक १३ गते अस्पताल प्रदेश सरकार मातहतमा आयो । प्रदेश सरकार मातहतमा आएपछि भने अस्पतालको ठूलो फड्को मारेको छ ।

प्रदेश सरकारको जबाफदेही र चिकित्सकहरूको अथक प्रयासपछि अहिले अस्पतालको अवस्था फेरिएको छ । अहिले आइसियु, एनआइसियु, भेन्टिलेटर, जटिल प्रकृतिका शल्यक्रिया, डाइलाइसिस, पत्थरीको उपचार, अत्याधुनिक एक्स-रे तथा जटिल प्रकारका हाड जोर्नीको समेत सेवाहरू अस्पतालबाट सम्भव भएका छन् ।

हिपजोर्नीको सफल शल्यक्रिया
अस्पतालले पछिल्लो पटक जटिल प्रकृतिका शल्यक्रियाहरू पनि कर्णालीमा विस्तार गर्दै गएको छ । पछिल्लो समयमा विभिन्न सेवा विस्तार गर्दै जटिल प्रकारका रोगहरूको सहज तरिकाले उपचार गर्दै आएको अस्पतालले जनाएको छ ।

मंगलबार मात्रै अस्पतालले एक महिलाको हिपजोर्नीको सफल शल्यक्रिया गरेको छ । प्रदेश अस्पतालका हार्डजोर्नी विशेषज्ञ एवम् प्रवक्ता डाक्टर विकास केसीसहितको टोलीले २६ वर्षीय महिलाको जटिल प्रकृतिको शल्यक्रिया सफलता पूर्वक गरेको हो । हिपजोर्नीको हड्डी खिएको समस्याबाट ग्रस्त वीरेन्द्रनगर-१२ की उक्त महिलाको हिपजोर्नीको शल्यक्रिया सफल भएको डाक्टर केसीले मकालुखबरलाई जानकारी दिए ।

हिपजोर्नीको सफल शल्यक्रिया गरेर कृत्रिम जोर्नी राखिएको केसी बताउँछन् । ‘यो शल्यक्रिया भनेको हाड जोर्नीकै मुख्य र महत्त्वपूर्ण शल्यक्रिया हो ।’ डाक्टर केसीले भने, ‘विषेशगरी यस्तो समस्या जन्मजात, वंशाणुगत गुण, बाथ रोग वा कुनै बेला चोटपटकका कारण हिपजोर्नी समस्या देखिन्छ, तर हाम्रो टिमले सफल शल्यक्रिया गरेको छ ।’

अप्रेसन गरिएको महिलाको जोर्नी भने सिकलसेल रोगका कारण सुकेको केसी बताउँछन् । ‘त्यहीँ जोर्नी पुनः काम गर्न सक्ने अवस्था थिएन अप्रेसनबाट त्यसलाई हटाएर कृत्रिम जोर्नी फेरिएको हो,’ डाक्टर केसीले भने, ‘यस्तो प्रकृतिको शल्यक्रिया बुटवलदेखि यता पश्चिम नेपालका कुनै पनि अस्पतालमा नहुने र प्रदेश अस्पतालमा तेस्रो पटक सफल अप्रेसन गरिएको हो ।’

डाक्टर केसीकाअनुसार गत कार्तिकमा पनि दुई जनाको हिपजोर्नीको सफल शल्यक्रिया गरिएको थियो । सिकलसेल रोग प्रायः बाँके, बर्दिया, कैलाली र सुर्खेतका चौधरी समुदायमा बढी देखिने गरेको अस्पतालले जनाएको छ । यो रोगको उपचार उमेर र सामाग्रीको आधारमा खर्च लाग्ने गरेको छ । स्वास्थ्य बिमा नगरेकाको हकमा बढीमा चार लाख र बिमा गरेको बिरामीको हकमा एक लाख रकम कम गरेर तीन लाख खर्च लाग्ने डाक्टर केसीले बताए । उक्त जोर्नीको शल्यक्रिया पश्चात् राम्रोसँग सन्चोपछि हिँडडुल गर्न मिल्ने समेत अस्पतालले जनाएको छ ।

अपहले कर्णालीमै हार्डजोर्नी विशेषज्ञ एवम् अस्पतालका प्रवक्ता समेत रहेका डाक्टर केसीले आगामी दिनमा क्यान्सर जस्तो गम्भीर रोगको उपचार गर्नेगरी पूर्वाधार थप सँगसँगै अस्पतालमा हाल नाक, कान, घाँटीको अप्रेसन, टाउकोमा रगत जमेको, मासु पलाएको, मेरुदण्ड, ठूलठूला घाउको अप्रेसन, टेलिमेडिसियन, फिस्टुला, दूरबिनबाट पित्त थैलीको अप्रेसन जस्ता अत्याधुनिक सेवाहरू दिँदै आइरहेको बताए ।

अबदेखि कर्णालीमै मिर्गौला प्रत्यारोपण सेवा शुरू गर्नको लागि समझदारी समेत भएको छ । चैत १० नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुर र कर्णाली प्रदेश अन्तर्गत प्रदेश अस्पतालबीच समझदारी भएको छ ।

उक्त सम्झौतापछि कर्णालीमा पहिलो पटक प्रदेश अस्पतालले अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्न लागेको छ । २०७४ सालबाट डाइलाइसिस सेवा विस्तार गरेको प्रदेश अस्पतालले १२० जनालाई सेवा दिइसकेको जनाएको छ । ५० शैय्‍याबाट क्षेत्रीय अस्पतालको रूपमा सुरु गरिएको अस्पताल हाल तीन सय ५० शैय्‍याको रूपमा सञ्चालित रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *