ओलीसँगको भेटमा धवलशमशेरले भने- अब पाँच दललाई चुनौती त दिनुपर्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्मशेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो ।
स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट अर्थपूर्ण छ । महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको हो ।
भेटवार्ता निकै सकारात्मक भएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । ‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’
भेटवार्तापछि राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले-राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए । ‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’








