जहाँ पालिकाले तलब दिएर कटुवाल नियुक्त गर्छ…

माछीखोला (गोरखा) । अहिले पनि गाउँघरमा सबैभन्दा भरपर्दो सूचनाको श्रोत कटुवाल हो । विकट क्षेत्रहरूमा जनप्रतिनिधिलाई भन्दा कटुवाललाई बढी विश्वास गर्छन् । ‘मैले भनेको कुरा पत्याउँदैनन् । कटुवाललाई कराउन लाउनै पर्छ । डाँडाबाट कटुवालले दिएको सूचना मात्रै आधिकारिक मान्छन्,’ धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने, ‘हामीले स्थानीय भाषामा कटुवाल कराउन लगाउँछौँ । विशेष सूचनाहरू कटुवालले नै पुर्‍याउँछन् ।’

धार्चेले मासिक तलब दिएरै कटुवाल नियुक्त गरेको छ । मासिक १ हजार ५ सय रुपैयाँ दिने गरी कटुवाल नियुक्त गरिएको उनले बताए । धार्चेका ७ वटै वडामा प्रतिवडा एकजनाका दरले कटुवाल नियुक्त गरिएको छ । ‘आधा भन्दा बढी जनसङ्ख्या नेपाली भाषा नबुझ्ने खालका छन् । स्थानीय भाषा बाहेक अरू उनीहरूलाई थाहा छैन,’ गुरुङ भन्छन्, ‘कटुवालले स्थानीय भाषामा सूचना दिन्छन् । त्यो सूचना भरपर्दो हुन्छ ।’

विकास निर्माण र अन्य सचेतनाबारे हुने बैठकको उपस्थिति तथा विभिन्न कार्यक्रमको निम्तो दिन कटुवाल प्रथा प्रभावकारी छ । वडा नम्बर ४ लाप्राकका अध्यक्ष राज गुरुङ सूचना र सञ्चारका विभिन्न माध्यमहरू आएपनि ग्रामीण क्षेत्रमा कटुवालको प्रभाव नघटेको बताउँछन् । ‘रेडियो छ । फेसबुक पनि चल्छ कतैकतै । तर धार्चेमा कटुवालकै सूचना प्रमुख मान्छन्,’ उनले भने, ‘शहरी क्षेत्रको सामाजिक सञ्जालले गाउँलाई धेरै प्रभाव पारेको छैन ।’

कटुवाल मात्रै होइन धार्चे गाउँपालिकाले त्यहाँका धामी झाँक्री र लामा पण्डितहरूको पनि पारिश्रमिक दर तोक्ने तयारी गरेको छ । ‘परम्परागत पूजाहरू महँगो हुँदै गयो । जति आधुनिकता आएपनि पुराना संस्कारहरू कायम छन्,’ पालिका उपाध्यक्ष फूलमाया गुरुङ भन्छिन्, ‘त्यसैले पालिकाले उनीहरूको संयुक्त भेला राख्ने र निश्चित पारिश्रमिक तोक्ने तयारी गरेको छ ।’ लामाहरूले भने पालिकाबाट आफूहरूले सहयोग नपाएको गुनासो गर्छन् । जन्म, मृत्यु र अन्य संस्कारका लागि लिने रकमको दर तोकेर बढी लिए कारबाही गर्ने गरी नियमन गरिने उनले बताइन् ।

धार्चे गोरखाको विकट पालिका हो । सूचनाबाट अधिकांश नागरिक वञ्चित हुने भएकोले गोठालाहरूलाई बर्सेनि रेडियो वितरण गर्दै आएको छ । यो वर्ष पनि ५० भन्दा बढी गोठालालाई रेडियो वितरण गरिएको पालिकाले जनाएको छ । ‘गाईबस्तु चराउन लेकमा जानुपर्छ । धेरै ठाउँमा फोन लाग्दैन । रेडियो भयो भने हालखबर सुन्न पाउँछन् भनेर रेडियो दिएका हौँ,’ अध्यक्ष सन्तोष गुरुङले भने, ‘सोलारबाट बत्ती बाल्न मिल्ने र रेडियो सुन्न मिल्ने खालको रेडियो वितरण गरेका छौँ ।’

गोरखाको आधा भन्दा बढी भूगोल चुमनुब्री र धार्चे गाउँपालिकामा पर्छ । चुमनुब्री सडक सञ्जालले नछोएको पालिका हो भने धार्चेमा बिस्तारै नयाँ ट्र्याक खुलेको छ । पालिका सदरमुकामसम्म अघिल्लो वर्षदेखि बल्ल गाडी पुगेको छ । ग्रामीण र विकट गाउँहरूमा अहिले पनि कटुवाल प्रथा कायम छ । विशेषगरी मनाङ, मुस्ताङ, उत्तरी गोरखा, डोल्पा लगायत जिल्लामा कटुवाल मार्फत सूचना प्रवाह गर्ने चलन हटेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *