डीआईजी कार्की लेख्छन्- प्रतिशोध लिने सम्भावना छ तर न्यायका लागि अदालत गएको हुँ

काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकको नाम सिफारिस गरिएको समाचार सार्वजनिक भएसँगै त्यसबारे टिकाटिप्पणी पनि शुरु भए । उसो त प्रहरीलगायत सुरक्षा निकायमा बढुवाका सिफारिस र निणर्यहरू विवादमा तानिइनु खास अनाैठो लाग्न छोडिसकेको छ ।

यसपटक बढुवा भएका तीनजनामध्ये सिंह र धानुकको नाममा बढी असन्तुष्टि देखियो । दुवैजना जुनियर भएर पनि बढुवाको सिफारिसमा परेको भन्दै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की असन्तुष्ट रहे । उनीहरूले यसबारे गुनासो सुन्ने समितिमा उजुरी नै गरे । तर, समितिले गृह सचिवको संयोजकत्वमा रहने सिफारिस समितिले गरेको सिफारिस ठिक रहेको निर्णय गरे लगत्तै सरकारले सिफारिसमा परेका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गर्‍याे ।

त्यसको केही घण्टामा प्रहरी प्रधान कार्यालयमा उनीहरूलाई दर्ज्यानी चिह्न पनि प्रदान गरियो । तर यो निर्णय गलत रहेको भन्दै तीनजना डीआईजीहरू भने सर्वोच्च अदालतमा पुगेका छन् । यसबारे अदालतको कुनै आदेश भने आउन बाँकी नै छ ।

सर्वोच्चमा रिट दायर गर्नेमध्येका एक डिआईजी इश्वरबाबु कार्कीले यसबारेमा थोरै भएपनि मुख खोलेका छन् । सामाजिक सञ्जालहरूमा सक्रिय रहेका उनले ट्वीटरमा लेखेका छन्–

धेरै समय पछी आज केही लेख्दैछु, समय कत्तिको उपयूक्त हो थाहा छैन । मेरो लागी व्यक्तिगत र पारिवारिक रुपमा यो बर्ष सुखद रहेन । हुन त देश, राज्य र ब्रम्हाण्डलाई नै सुखद नरहेको हाम्रा लागि मात्र कसरी अनुकुल हुन सक्थ्यो र ? कुरा अब वर्तमानको गरौँ । सामाजिक संजालहरुमा मेरो उपस्थिती लामै समयदेखि छ । आफ्ना निजी कुराहरू अनि समसामयिक बिषयमा हल्काफूल्का टिप्पणी, व्यंग्य आदी माध्यमबाट । यसलाई म आफैँले कहिल्यै आफ्नो पेशासँग जोडने प्रयास गरिन । तर आज पहिलो पटक मैले व्यावसायिक पाटो उप्काउँदैछु ।

सरकारी सेवामा कार्यरत मैले यसपटकको बढुवामा आफ्नो नाम नपर्दा गरेका उजुरीबारे लगभग सबैजसो नाम चलेका छापा रअनलाइनहरुमा आए। समाचारका कतिपय कुराहरु तथ्यगत थिए भने कतिपय अनुमानित। तर सन्तोष केमा रह्यो भने विना प्रभाव पनि सकारात्मक समाचार आउदा रहेछन भन्ने मेरो निजी धारणाको विकास भयो।

मेरो उजुरी रोक्न यो किन ? के का लागि ? भनेर आग्रह, पूर्वाग्रह र दुराग्रह मिश्रीत प्रश्नहरु तेर्सिए, अझ कतिपय त आजपर्यन्त भेट नभएका सुत्रहरुले समेत भेटने प्रयास गरे । २९ं बर्षको सेवा पछी स्वतः प्राप्त गर्नुपर्ने प्रतिफलबाट बिमुख म जस्तासँग भविष्यमा आउन सक्ने “अवसर”को बारेमा बिमर्श गर्दै गर्दा त एकछिनका लागि निकै ठुलै मानिस पो भईएछ कि भनेर भ्रममा रमाईयो पनि । अर्कोतिर “खै कुन्नि के के लगाएर” ठेगान लगाईदिनेसम्मको कुरा आए ।

मेरो उजुरी कर्मचारी जिवनको एउटा सामान्य प्रक्रिया हो त्यसैले म यसलाई ग्लोरिफाई गरेर “लडाईँ” भन्ने पक्षमा छैन । यो कुनै अमुक व्यक्तिरसंस्था र सरकार लक्षित बिरोध होईन, हुन सक्दैन। बरु यसक्रममा मलाई न्याय दिन प्रयास गर्नेहरु प्रति आभारी छु,त्यसैले यसको अतिरंजनामा पनि मेरो बिमति छ।

यसबीच मलाई गोटी बनाएर खेल्न खोज्ने पात्रहरु पनि बग्रेल्ती भेटिए तर तिनका उत्तेजित गर्ने प्रयासहरुलाई सहज रुपमा अस्विकृत गरियो । तथापी यसलाई कसैले गलत रुपमा परिभाषित गर्छ र बुझ्छ भने त्यसको जिम्मेवारी मैले लिन सक्दिन । मेरो जिकिर केवल आफूले न्याय पाउनु पर्छ भन्ने मात्र हो ।

अनि यो उजुरी अहिले नै किन ? भन्ने प्रश्न पनि नतेर्सिएको हैन। यसका लागि रातो कार्ड दिएर बाँकि खेल हेर्न नदिने मात्र हैन कि मैदानमै बस्न नदिने जस्ता “नियम र रेफ्री”को व्यवस्था बारे “बैशाख १९” पछी बिबेचना गरौँला। अहिलेलाई सेवाकालको उत्तरार्द्धमा गुमाउन केही नरहेपछीको कदम मात्र हो यो।

मैले केही दिन अघि ट्विटरमा एउटा पोल गरेको थिए,“अन्तिम आशा त न्यायालय कै रह्यो, हेरौ जाम कि नजाम?”
थोरै फलोवर भएपनि ८३ प्रतिशतले जानुपर्छ भनेकाले पनि मलाई नैतिक बल पुग्यो। तर न्यायालय पुग्नु अघिको बिधमान नियम र कार्यविधिको जटिलतालाई पनि पार गर्नै पर्ने बाध्यता रहेछ ।
मलाई थाहा छ, नकारात्मकताउन्मुख हाम्रो परिवेशमा धेरैले मेरा कुरालाई “फ्रस्ट्रेसन वा कुण्ठा”को रुपमा तामेली गर्नेदेखी “भिलेनाइज” गर्न पनि पछी पर्ने छैनन्। अनि त्योभन्दा एक कदम अघि बढेर प्रतिशोध लिने सम्भावना पनि त्यत्तिकै देख्दैछु। संस्थागत रुपमा दिनसक्ने दुखको त अझ कुरै नगरौँ।

तर केही छैन, आउदो पुस्ताको वृत्तिविकासमा कलम चोप्ने क्रममा “फलानोले जस्तो गर्छन कि‘१” भनेर यो प्रकरणले चिरनिन्द्रामा मस्त “विवेक”लाई झस्काउनेसम्मको काम गर्छ कि भन्ने “सपना” देखेको छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.