सुदूरपश्चिममा कांग्रेसकाे फरक बाटाे, सरकारविरुद्ध नयाँ समीकरण

धनगढी । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठकले सत्ता साझेदार दलहरूसँग आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस संसदीय दलले प्रतिपक्षी एमालेसँग मिलेर जाने सहमति गर्‍याे । केन्द्रमा सत्ताको प्रमुख घटक कांग्रेसले सुदूरपश्चिममा भने एमालेसँगै मिलेर अगाडि बढ्ने निर्णयमा पुगेको हो । कांग्रेस सुदूरपश्चिममा प्रमुख प्रतिपक्षीका रूपमा रहेको छ । कांग्रेससँग एमाले पनि प्रतिपक्षमै छ ।

बुधबार धनगढीमा भएको छलफलमा कांग्रेस र नेकपा एमालेका सांसदबीच प्रदेश सरकारको विपक्षमा उभिने विषयमा सहमति गरेका हुन् । केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन छ । सुदूरपपश्चिम प्रदेशमा भने कांग्रेस सुरुवातदेखि नै प्रमुख प्रतिपक्षीका रूपमा रहेको छ ।

माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजादी पनि सामेल छ । त्यसबाहेकका अन्य दलहरू विपक्षमा छन् । प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १०, जसपाका एक र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद छन् । प्रमुख प्रतिपक्षीमा रहेपनि कांग्रेस यसअघि एमालेसँग एकमत भएर गएको थिएन ।

तत्कालीन दुईतिहाइकाे नेकपा नेतृत्वका सरकार हुँदा कडा रूपमा प्रस्तुत भएको कांग्रेस केन्द्रमा कांग्रेसले सत्ता हातमा लिएपछि प्रदेश सभामा पनि खरो रूपमा उभिएकाे थियाे । कांग्रेसले प्रदेशमा आफू प्रमुख प्रतिपक्ष भएको दाबी गर्दै आएको भएपनि प्रदेश सभामा सोहीअनुसारको उपस्थिति थिएन । केन्द्रमा कांग्रेसकाे नेतृत्वमा सरकार बनेयता प्रदेशमा पनि नेतृत्व हत्याउने दाउमा कांग्रेस रहकाे अहिलेसम्म सरकारमा सहभागितासमेत जनाउन पाएको छैन । कांग्रेस अहिले पनि सुदूरपपश्चिममा सरकारको नेतृत्व नभए सरकारका सहभागिताका लागि केन्द्रीय नेताहरूसँग लबिङ्गमै छ ।

पटक-पटकको प्रयासमा पनि सत्ता गठबन्धनले सुदूरपपश्चिमको हकमा कांग्रेसकाे वास्ता नगरेपछि कांग्रेस संसदीय दल अहिले एमालेलाई साथमा लिएर अगाडि बढ्ने मनसायमा पुगेको छ । यस विषयमा धारणा राख्दै कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिम सरकार चलाउन नयाँ समीकरण बन्ने बताए । उनले एमाले पनि अहिले प्रतिपक्षमा रहेकाले प्रदेश सरकारले गरेका नराम्रा कामको विरोध गर्न सहज हुने बताए ।

यस्तै प्रदेश सांसद भरत खड्काले प्रदेशको आवश्यकताअनुसार नै संसदीय दलले एमालेसँगै भएर अगाडि बढ्ने निर्णय गरेको बताए । उनले केन्द्रको सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाउनुपर्ने बताए । ‘सुदूरपश्चिम प्रदेश सरकार एकतर्फी रूपमा काम गर्दै आइरहेको छ,’ उनले भने, ‘केन्द्रमा गठबन्धन छ भन्दैमा यहाँ प्रदेश सरकारले गरेका हरेक कामको भागीदार हामी बन्दैनौं ।’

एमालेका प्रदेश सांसद लिलाधर भट्टले यसअघि प्रदेशमा कांग्रेसको भूमिका स्पष्ट नदेखिएको भएपनि अहिले एमालेसँगै मिलेर सरकारको प्रवृत्तिविरुद्ध एक हुने सहमति भएको बताए । उनले दुवै प्रतिपक्षी दलको छलफलबाट साझा धारणा बनाएर अघि बढ्ने सहमति भएको बताए । प्रदेश गठबन्धनबारे भएको छलफलमा कांग्रेसका प्रदेश सांसद डिल्लीराज पन्त, भरतबहादुर खड्का र अम्बि थापा तथा एमालेका प्रकाशबहादुर शाह, लिलाधर भट्ट, हर्कबहादुर कुँवर र बलदेव रेग्मी सहभागी भएका थिए ।

के होला चुनावी तालमेल ?

नेपाली कांग्रेसले केन्द्रमा सत्ता गठबन्धबीच चुनावी तालमेल गर्ने निर्णय गर्दैगर्दा सुदूरपश्चिममा भने कांग्रेसकाे दोहोरो भूमिका देखिएको छ । प्रदेश सरकारमा कांग्रेसले एमालेसँग समीकरण गरेर उभिएको छ भने स्थानीय तहको निर्वाचनमा केन्द्रीय सत्ता गठबन्धन दलसँगै तालमेल गर्ने विषयमा छलफल अगाडि बढ्दैछ ।

मंगलबार केन्द्रीय सत्ता गठबन्धन दलबीच धनगढीमा भएको चुनावी गठबन्धनबारे भएको छलफलमा सत्ता साझेदार दल माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूले चुनावी तालमेल गर्ने विषयमा जोड दिए । त्यसमा कांग्रेस पनि सकारात्मक देखियो । दोस्रो बैठक आयोजना गरि निष्कर्ष निकाल्ने सहमतिसहित बैठक सकिएको थियो । सोही दिन बेलुका कांग्रेस केन्द्रले गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय सार्वजनिक भयो ।

कैलालीमा सत्ता गठबन्धन दलबीच यही चैत २३ गते दोस्रो चरणको बैठक बस्ने भनिएको छ । उक्त बैठकले के निर्णय गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । कांग्रेस केन्द्रले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेका कारण कैलालीमा पनि सोही अनुसार निर्णय हुने कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए । ‘जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल हुनुपर्छ भन्ने छैन,’ स्थानीय तहको आवश्यकता हेरेर निर्णय लिन्छौं । यस विषयमा निर्णय लिन २२ गते जिल्लाको बैठक बस्छ । अनि २३ गते गठबन्धन दलबीचको बैठकमा आफ्नो निर्णय प्रस्तुत गर्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *