नेपाल त्रिदेशीय टी-ट्वेन्टी शृंखलाको फाइनलमा, करणको कीर्तिमानी बलिङ

काठमाडौँ । ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल मलेसिया र पपुवा न्युगिनी पीएनजी सम्मिलित त्रिदेशीय टी ट्वेन्टी क्रिकेट शृंखलाको फाइनलमा पुगेको छ । विहीबार भएको खेलमा पीएनजीलाई ३७ रनले हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

२०४ रनको लक्ष्य पछ्याएको पीएनजीलाई खेल सकिन २ बल बाँकी हुँदै १६६ रनमा समेट्दै नेपाल विजयी भएको हो ।

कीर्तिपुरमा टस जितेर पहिला फिल्डिङ रोजेको पीएनजीलाई नेपालले २ सय ४ रनको लक्ष्य दिएको थियो ।

नेपालका करण केसीले उत्कृष्ट वलिङ गरे । करणले ३ ओभर ४ बल बलिङ गर्दै २१ रन खर्चेर ५ विकेट लिए । उनी टी ट्वेन्टीको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । यससँगै उनले टी ट्वेन्टी क्रिकेटमा आफ्नो विकेट संख्या ५३ पुर्याएका छन । जुन नेपालका कुनै पनि बलरको सर्वाधिक विकेट हो । उनले २० औँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिँदै ह्याट्रिक पनि पूरा गरे ।

यस्तै अभिनास बोहोरा र सोमपाल कामील दुई दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए ।

पीएनजीका ओपनर लेगा सिआका र कप्तान आसाद भाला एक–एक रन मै आउट भएपनि चार्ल्स अमिनिले ४७ बलमा ९ चौकासहित ६२ रन तथा टोनी उराले २२ बलमा ४३ रन बनाएपछि पीएनजी लक्ष्यउन्मुख देखिएको थियो । तर नेपाली बलरको धारिलो बलिङसामु पीएनजीका अन्य ब्याटर टिक्न सकेनन् ।

यसअघि दिपेन्द्रसिंह ऐरी र आदिल आलमको विष्फोटक ब्याटिङ सँगै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनाएको थियो ।  दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का सहित ६६ रन बनाए । यस्तै, आजै राष्ट्रिय टिममा डेब्यु गरेका आदिलले ११ बलमा ३ छक्का र १ चाैकासहित ३१ रन बनाए । रोहित पौडेलले ४१, आशिफ शेखले ३८ र कुशल भुर्तेलले १८ रन बनाए ।

रोहितले २३ बलमा ४ चाैका र २ छक्का तथा आसिफले २९ बलमा ४ चाैका र १ छक्का प्रहार गरे । पीएनजीका काबुवा माैरवाले ३ विकेट लिए ।

नेपालले अर्को खेल मलेसियासँग खेल्नेछ । उत्कृष्ट दुई स्थानमा रहने टिमबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *