फेरि अदालत पुग्यो प्रहरी बढुवाको विषय

काठमाडौँ । नेपाल प्रहरीको भावी नेतृत्वसम्ममा अर्थ राख्ने तीन डीआईजीको बढुवाको निर्णय विवादित भएको छ । बढुवाको सिफारिस गर्दाताकै विवादमा परेको यो विषय सरकारले गरेको निर्णयसँगै अदालतमा पुगेको हो । मन्त्रिपरिषद् बैठकले तीनजना प्रहरी नायव महानिरीक्षक डीआईजीहरूलाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गरेसँगै असन्तुष्ट तीन डीआईजीहरू न्यायालय पुगेका हुन् ।

डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । तीनैजनाले यसअघि बढुवाको सिफारिस अन्यायपूर्ण रहेको भन्दै बढुवा सिफारिस समितिमा उजुरी गरेका थिए ।

चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेपछि आफूभन्दा कनिष्ठ डीआईजीद्वय सिंह र धानुकलाई बढुवाको लागि सिफारिस गरेको भन्दै उनीहरूले समितिमा उजुरी दिएका थिए। समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो ।

त्यसलगत्तै बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीनै जना डीआईजीलाई बढुवा गर्ने निर्णय गरेको थियो । यसअघि पनि प्रहरीभित्र बढुवाप्रति असन्तुष्टि जनाउँदै अदालतमा उजुरी दिने क्रम बढेको थियो । सरकारले बढुवामा चलखेल गर्ने गरेको कुरा पटक पटक उठ्ने गरेको छ । यसो गर्नाले सिंगो प्रहरी संगठनमा नै नकारात्मक असर पर्ने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *