राप्रपा मकवानपुरको अध्यक्षमा थापा, हेटौँडा जाँदै केन्द्रीय अध्यक्ष लिङ्देन

काठमाडौँ । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौँडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो ।
राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रूपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निष्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताएका छन् । साथै बैठकले चैत्र २७ गते हेटौँडामा बृहत् आमसभा गर्ने निर्णय समेत गरेको छ ।
आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निराश भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रूपमा स्थापित हुने दाबी गरे।
नवनिर्वाचित अध्यक्ष शिवराम थापाले स्थानीय चुनावमा राप्रपालाई जसरी भएपनि सफल बनाएरै छाड्ने दाबी गरे । यसअघि राप्रपा मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटा लगायत नेता कार्यकर्ता कमल थापा नेतृत्वको राप्रपातिर लागेपछि नयाँ कार्यसमिति बनाइएको हो ।








