प्रचण्डको दाबी- ‘स्थानीय चुनावमा गठबन्धनकै रूपमा जान्छौँ’

कठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरू स्थानीय चुनावमा गठबन्धनकै रूपमा जाने बताएका छन् । बिहीबार (आज) रिपोटर्स क्लबको २४औं वार्षिक महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘हामी आगामी निर्वाचनमा पनि गठबन्धनकै रूपमा अगाडि जान्छौँ,’ प्रचण्डले भनेका छन्, ‘नेपाली कांग्रेसले पनि गठबन्धनकै रूपमा अगाडि जाने सहमति गरिसकेकोले अब यो पक्का भएको छ ।’
गठबन्धन विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै प्रचण्डले यसको उपादेयता अझै बाँकी रहेको बताएका छन् । ‘यो एउटा विशेष परिस्थिति बनेको छ,’ उनले भनेका छन्, ‘यो अझै चाहिन्छ भन्नेमा हामी छौँ । त्यसैले आउँदो निर्वाचनमा पनि हामी सँगै जानेछौँ ।’
‘अर्थतन्त्रलाई ख्याल गरेका छौँ’
प्रचण्डले नेपालको अर्थतन्त्रतिर सरकारको ध्यान गइरहेको बताएका छन् । पछिल्लो समय विभिन्न खाले समाचारहरू आइरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘हाम्रो अर्थतन्त्र त्यत्ति धेरै धराशायी पनि बनेको छैन । जसरी श्रीलंकातिर संकट देखिन्छ ।’
तर, अब भने समीक्षा गरेर गर्नेबेला भएको प्रचण्डले बताए । ‘नेपालको अर्थतन्त्रलाई दुर्घटनामा जानु हुँदैन र दिनु हुँदैन भनेर हामीले छलफलको सुरुआत गरिसकेका छौँ,’ उनले भने, ‘अहिल्यैसम्म त ठिकै छ । तर, अबचाहिँ समीक्षा गरिएन भने र काम थालिएन भने दुर्घटनातिर जान पनि सक्छौँ ।’
यसबारेमा प्रधान मन्त्रीसँग छलफल भइरहेको प्रचण्डले बताएका छन् । ‘प्रधान मन्त्रीजीसँग पनि छलफल भइरहेको छ,’ प्रचण्डले भनेका छन्, ‘अब चाँडै नै बैठकको आयोजना गर्छौँ । यसमा सरकारले तीव्र रूपमा काम गर्नेछौँ ।’
‘नेपालमा प्रेसको भूमिका सधैँ सराहनीय’
प्रचण्डले नेपालको सन्दर्भमा प्रेसले सधैँ सराहनीय भूमिका निभाएको बताएका छन् । बृहत् शान्ति सम्झौतायतादेखि नेपाली प्रेस गजतको भूमिका सधैँ तारिफयोग्य रहेको उनले बताएका छन् । ‘मैले हेर्दै आएको छु,’ उनले भने, ‘नेपालमा प्रेसको भूमिका सधैँ स्वागतयोग्य र सराहनीय रहँदै आएको छ ।’
आफूले शान्ति सम्झौता गर्दा पनि प्रेसबारे बोलेको उल्लेख गर्दै प्रचण्डले थपे— ‘नेपालका हरेक ठूल्ठूला राजनीतिक परिवर्तनमा प्रेस जगतको ठूलो हात छ । यसको म सराहना गर्दछु ।’








