काठमाडौँमा सवारी दुर्घटनाः ४४ महिनामा ५ सय ६८ ले ज्यान गुमाए

काठमाडौँ । बितेको ४४ महिनामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान गएको जनाएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा सवारी दुर्घटनामा परी काठमाडौँमा मात्रै १ सय ३१ जनाको ज्यान गएको थियो । सो वर्ष काठमाडौँमा ६० जना दुर्घटनामा परी अंगभंग भएको थियो ।
यसैगरी, सो आर्थिक वर्षमा ललितपुरमा ५२ जनाको सवारी दुर्घटनामा परेर ज्यान गएको थियो भने ३ जना अंगभंग भएका थिए । यस्तै, भक्तपुर ३७ जनाको मृत्यु हुँदा १० जना अंगभंग भएको रेकर्डले बताउँछ ।
यसैगरी, आर्थिक वर्ष २०७६÷७७ मा काठमाडौँमा ८१ जनाको मृत्यु तथा ६५ जना अंगभंग भएका थिए । यस्तै, ललितपुरमा २५ जनाको ज्यान जाँदा ४ जना अंगभंग भएका थिए भने भक्तपुरमा सो आर्थिक वर्षमा २७ जनाको मृत्यु हुँदा ३ जना अंगभंग भएको रेकर्ड छ ।
यसैगरी, आर्थिक वर्ष २०७७÷७८ मा काठमाडौँमा ७६ जनाको मृत्यु तथा ३६ जना अंगभंग, ललितपुरमा २३ जनाको मृत्यु तथा ५ जना अंगभंग तथा भक्तपुरमा २३ जनाको मृत्यु तथा ४ जना अंगभंग भएको रेकर्डले देखाएको हो ।
यसैगरी, चालू आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्म काठमाडौँमा ६८ जनाको मृत्यु तथा ३४ जना अंगभंग भएको प्रहरीको रेकर्ड छ । यस्तै, ललितपुरमा ८ जनाको मृत्यु भएको तथा १३ जना अंगभंग भएको र भक्तपुरमा १७ जनाको मृत्यु हुँदा चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ जना अंगभंग भएको प्रहरीको तथ्यांक छ ।
टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट बुधबार बिहान दुई विद्यार्थीको मृत्यु भएको छ ।
सुन्दरीजलस्थित वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
बुबा घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै थिए । घटनामा घिसिङ पनि गम्भीर घाइते भएका छन् । घिसिंङले टिपर चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको बताएका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । –राजधानी दैनिकबाट








