‘लेखेर राख्नुस्, एमालेले ६० प्रतिशत पालिका जित्छ’

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आसन्न स्थानीय निर्वाचनमा आफ्नो दलले ठूलो संख्यामा स्थानीय तह जित्ने दाबी गरेका छन् । एमालेले कम्तीमा ६० प्रतिशत स्थानीय तहमा सरकार बनाउने उनको भनाइ छ । ‘लेखेर राख्नुस्, यसपटक एमालेले कम्तीमा ६० प्रतिशत स्थानीय तहमा सरकार बनाउँछ, जित्छ ।’
गठबन्धन एमालेका लागि नयाँ विषय नभएको पौडेलको भनाइ छ । ‘हामीले यस्तो गठबधन देखेका छौँ, व्यहोरेका छौँ र परास्त पनि गरेका छौँ,’ उनले भने, ‘यसकारण यसपटक पनि हामी गठबन्धनलाई परास्त गर्नका लागि तयार छौँ । सक्षम छौँ । याे कुनै नयाँ विषय नै हाेइन हाम्राे लागि ।’
एमालेले ७४ सालको भन्दा गुणात्मक रूपमा बढी संख्या जित्ने उपाध्यक्ष पौडेलको भनाइ छ । ‘एक्लै सक्ने एक्लै आए हुन्छ, गठबन्धन गरेर आउने दलहरू गठबन्धन बनाएरै आए भयो । तर, एमाले त्यसलाई परास्त गर्न समक्ष छ । त्यो अनुभव एमालेसँग छ, हामीसँग छ । एमाले पटेका पड्काएर डराउनेवाला छैन । एमालेलाई पटेका पड्काएर तर्साउने कोसिस नगरे हुन्छ ।’








