‘चुनाव मात्रै राजनीति हो भन्ने दृष्टिकोण गलत हाे’

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले निर्वाचन मात्रै राजनीति हो भन्ने दृष्टिकोण ठिक नभएको बताएका छन् । नेपालको सन्दर्भमा पछिल्लो समय यही दृष्टिकोणको राजनीति फस्टाएको उल्लेख गर्दै आहुतिले भनेका छन्, ‘निर्वाचन मात्रै राजनीति हो भन्ने दृष्टिकोण राम्रो होइन, ठिक होइन ।’
निर्वाचन राजनीतिको एउटा आयाम मात्रै भएको आहुतिको भनाइ छ । ‘राजनीतिका धेरैवटा आयामहरू हुन्छन्, तीमध्ये निर्वाचन एउटा आयामचाहिँ हो । तर, यही नै पूरै राजनीति हो भन्नेचाहिँ होइन । त्यो दृष्टिकोण गलत हुन्छ ।’ किन जनतामा जान डराउनुभएको ? भन्ने प्रश्नमा आहुतिले भने— ‘जनताबिना त राजनीति नै हुँदैन, टिक्दैन । किन डराउनु र ? तर, यसमा अलिक विवेकचाहिँ पुर्याउनुपर्छ ।’
आसन्न निर्वाचनमा जाने वा नजानेबारे भोलिबाट शुरू हुने राष्ट्रिय भेलाले नै निर्णय गर्ने पनि उनले बताए ।
यस्तै फरक प्रसङ्गमा उनले कुनै पनि पार्टीसँग एकीकरणको कुरा नभएको प्रष्ट्याए । ‘बाहिर सञ्चारमाध्यममा आउने र नेताहरूले विभिन्न मञ्चहरूमा व्यक्तिगत रूपमा बोल्ने कुरा फरक हो,’ आहुतिले भने, ‘तर, आधिकारिक रूपमा पार्टी एकीकरणकै विषयलाई लिएर कुनै पार्टीसँग छलफल तथा बहस भएको छैन ।’








