नेताहरूलाई ओलीको निर्देशन- ‘एमाले सरकारले गरेको काम लिएर जनतामा जानू’

काठमाडौँ । पूर्वप्रधान मन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले गरको काम लिएर जनतामा जान नेता÷कार्यर्ताहरूलाई निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारीबारे ‘भर्चुअल कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘एमाले आफ्नै सरकारले गरेको कामलाई लिएर जनतामाझ जानुपर्छ,’ सम्बोधनका क्रममा ओलीले भने, ‘एमालेले जुन जुन काम गरेको छ, ती कामहरू जनताले थाहा पाउनुपर्दछ । एमाले यसरी सरकारमा जानुपर्ने हुन्छ । त्यहीअनुसार तयारी अघि बढाउनुस् ।’
‘गठबन्धन दलहरूको बाध्यता हो, छनोट होइन’
ओलीले गठबन्धन चार दलको छनोट नभइ बाध्यता भएको बताएका छन् । ‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ । एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ? तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौं मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुनिश्चित छ ।’








