बौद्ध दर्शनको प्रवर्द्धनले बिमस्टेक क्षेत्र संगठित हुन्छ : प्रधान मन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअलमाध्याबाट सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका हुन् ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा प्रधान मन्त्री देउवाले जोड दिए । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा भने आएको छैन ।
साथै उनले कोरोना नियन्त्रण नेपाल सफल भएको बताए । सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपद्लाई परास्त पार्न सकिने उनको धारणा छ । ‘जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको छ। फर्कन नसक्नेगरी आउने संकटभन्दा पहिले नै हामीले कडा कदम चाल्नुपर्नेछ,’ उनले भने ।








