किशोर गुरुङको गोरक्ष अभियान राप्रपामा, युवा मोर्चामा पाण्डे

काठमाडौँ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा देशव्यापी संगठनको सञ्जाल विस्तार गर्न जुटिरहेको राप्रपामा समान विचार भएका व्यक्ति, समूह र संगठनहरू समाहित हुने क्रम जारी छ । यसै क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियानलाई संस्थागत रूपमै राप्रपामा समाहित गराएका छन् ।
राप्रपाको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भए लगत्तै आफ्नो कार्ययोजनामा ६ महिनाभित्र समान विचार भएका व्यक्ति, समूह र दललाई राप्रपामा समाहित गर्ने अठोट लिएका लिङ्देनले गुरुङ नेतृत्वको अभियानलाई पार्टीमा समाहित गरेका हुन् । राप्रपामा यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान, नेपालका लागि नेपाली अभियानको अधिकांश हिस्सा, मिसन नेपाल लगायतका संगठन राप्रपामा समावेश भइसकेका छन् र विभिन्न समूहसँग औपचारिक अनौपचारिक संवाद र छलफल चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
यसैगरी राप्रपाले नेतृत्व लगायत पार्टीको सम्पूर्ण सुरक्षा हेर्ने गरी गठन गरेको राष्ट्रिय युवा मोर्चाको नेतृत्वमा हेरफेर गरेको छ । मोर्चाको अध्यक्षमा काठमाडौँका सुरज पाण्डे (कालो बाहुन)लाई चयन गरेको छ । अध्यक्ष लिङ्देनले मोर्चालाई आवश्यक कार्ययोजना बनाइ पेस गर्न निर्देशन दिएका छन्। यसअघिका अध्यक्ष रहेका केदार धमला पार्टीको काठमाडौँ महानगर समितिको अध्यक्ष भएकाले मोर्चाले नेतृत्व परिवर्तनका लागि पार्टीलाई आग्रह गरेको थियो ।
राप्रपाले चैत २५ गते काठमाडौँमा स्थानीय तहको निर्वाचन केन्द्रित आमसभा गर्दैछ, यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।








