बाँदरले बाली मासे क्षतिपूर्ति

काठमाडाैँ । अबदेखि बाँदर र नीलगाईले कृषि बालीमा क्षति पुर्याएमा किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था सरकारले गर्न लागेको छ । यसअघि १४ वटा वन्यजन्तुले मानव र कृषि बालीमा क्षति पुर्याउँदा सरकारले राहत एवं क्षतिपूर्ति उपलब्ध गराउँदै आएको थियो । अब यो सूचीमा बाँदर र नीलगाईसमेत समेटिन लागिएको हो ।
‘वन क्षेत्रको विस्तारसँगै गाउँघरमा बाँदरको पहुँच पनि बढेको पाइएको छ,’ वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले भने, ‘खेती बालीमा पुर्याएको नोक्सानीबापत क्षतिपूर्तिको माग भइरहेका वेला किसानको विषय सम्बोधन गर्न खोजिएको हो ।’
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–०६९ अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बँदेल, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, अर्ना, मगरगोही, गौरीगाई र अजिंगरबाट मानवीय क्षति, पशुको क्षति, भण्डारण गरेको अन्नको क्षति, घर/गोठको क्षति र खाद्यान्न बाली (उखु र व्यावसायिक केराखेतीसमेत)को क्षति हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग तथा मातहतका निकायले राहत उपलब्ध गराउँदै आएका छन् । अब यो सूचीमा बाँदर र नीलगाई पनि समेट्न लागिएको हो ।
निकुञ्ज विभागका सूचना अधिकारी डिलबहादुर पुर्जा पुनका अनुसार निर्देशिका संशोधनका लागि सरोकारवालासँग छलफल भइसकेको छ । ‘बाँदर र नीलगाईबाट पनि क्षति बढ्यो । पीडितलाई राहत उपलब्ध गराउने गरी निर्देशिका संशोधनको तयारी छ,’ उनले भने । हालै काठमाडौंमा सम्पन्न ३८औँ वार्डेन सेमिनार तथा २०औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरूको बैठकले पनि निर्देशिकालाई संशोधन गरी क्षति गर्ने वन्यजन्तु प्रजाति थप गर्न पहल गर्ने निर्णय गरिसकेको छ ।
हाल हात्तीले पशुको क्षति पुर्याउँदा राहत पाइँदैन । तर, मान्छे घाइते र मृत्यु, भण्डारण गरेको अन्न, घर÷गोठ क्षति र खाद्यान्न बालीमा क्षति पुर्याउँदा राहत दिइन्छ । गैँडाले पशु, भण्डारण गरेको अन्न र गोठमा क्षति पुर्याउँदा राहत पाइँदैन । संरक्षित क्षेत्र र राष्ट्रिय वनमा वन्यजन्तुको आक्रमणमा परी भएको मानवीय र अन्य क्षतिको हकमा राहत दिइँदैन ।
बाँदरको आतंक बढेपछि बागमती प्रदेश सरकारले कार्यक्रम नै सञ्चालनमा ल्याएको छ । बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७६ अनुसार बाँदर व्यवस्थापनका लागि किसानलाई मेसिनरी तथा लजिस्टिक सामग्री प्रदान गर्नुका साथै तालिमसमेत दिइने गरिएको छ । तीन वर्षअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर समात्न भारतबाट टोली नै झिकाइएको थियो । नगरपालिकाले बाली संरक्षण समूहमार्फत १० लाख रुपैयाँ खर्चेको थियो ।
घोडा, चौँरी र याकमा क्षति हुँदा पनि राहत पाइने
निर्देशिकाअनुसार वन्यजन्तुबाट पशुमा क्षति हुँदा पनि राहत पाइन्छ । हाल राहत पाइने सूचीमा भैँसी, राँगो, गोरु, गाई र साँढे छन् । तर, अब हिमाली क्षेत्रका घरपालुवा जनावरलाई पनि यो सूचीमा समेट्ने तयारी छ ।
सूचना अधिकारी पुनका अनुसार घोडा, चौँरी र याक पनि यो सूचीमा समेट्ने गरी काम भइरहेको छ । हाल वयस्क भैँसी वा जोत्ने उमेरको राँगो वा गोरुको मृत्यु भएमा ३० हजारसम्म राहत दिइन्छ । अन्य घरपालुवा जनावरको मृत्यु भएमा १० हजारसम्म राहत दिने व्यवस्था छ । संरक्षित क्षेत्र र राष्ट्रिय वनमा वन्यजन्तुको आक्रमणमा परी पशु मारिएमा राहत पाइँदैन । वन मन्त्रालयका प्रवक्ता काफ्लेले आगामी बजेटमा वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि छुट्ट कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।
कति पाइन्छ राहत ?
वन्यजन्तुबाट मान्छे घाइते भएमा औषधि उपचारका लागि बढीमा २० हजार रुपैयाँ दिइन्छ । सख्त घाइते भएमा दुई लाख र मृत्यु भएमा परिवार/हकवालालाई १० लाख राहत उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै, भण्डारण गरिएको अन्नमा क्षति पुर्याएमा बढीमा १० हजार, बालीमा क्षति पुगेमा खेतीको क्षेत्रफल र प्रकृति हेरेर बढीमा १० हजार उपलब्ध गराइन्छ । तर, एक मौसममा लगाइएको बालीको हकमा एकपटक र वर्षमा दुईपटकसम्म मात्र राहत उपलब्ध गराउने व्यवस्था छ । –नयाँ पत्रिकाबाट








