अस्तव्यस्त बन्दै उद्योग व्यवसाय

विराटनगर । उद्योग वाणिज्य महासंघ प्रदेश १ ले रुस र युक्रेन बिच भएको द्वन्द्वको असर नेपालमा पनि परेकोले सबै क्षेत्र त्रसित भएको बताएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराम ढकालले विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् ।

बैंकिङ तरलता, कर्जाको व्याज दरमा वृद्धि, बैंकबाट ऋण प्रवाह नहुनु आदि कारणबाट उद्योगी व्यवसायीहरू संकटमा परेको उनको भनाई छ । ‘अहिले आएर रुस र युक्रेनको युद्धबाट देशको अर्थतन्त्र झन् संकटमा पर्न गएको छ,’ उनले भनेका छन्, ‘पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ लगायतमा समेत अत्यधिक मूल्य वृद्धि हुन जाँदा उद्योगी व्यवसायी लगायत आमवर्ग त्रसित अवस्थामा पुगेका छन् ।’

नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् खरिद गरी आपूर्ति गर्न महँगो हुने र प्राधिकरण नोक्सानीमा जाने कारण देखाई औद्योगिक प्रयोजनमा खपत हुने विद्युतमा १४ घण्टाको अघोषित लोडसेडिङ गरेपछि उद्योगहरूमाथि झन् ठूलो बज्रपात पर्न गएको उल्लेख गरिएको छ । ‘सरकारले विद्युत् खपत बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विद्युत् प्राधिकरणप्रति विश्वस्त भई सबैजसो ठूला उद्योगहरूले करोडौँको थप लगानी गरेको अवस्थामा उद्योग नै धराशायी हुने गरी विद्युत् आपूर्तिमा लोडसेडिङ गरिनु राज्यका लागि पनि ठूलो नोक्सानी हुने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘महँगो डिजेलबाट उद्योग सञ्चालन गर्दा स्वदेशी उद्योगहरूले आयातित वस्तुमा प्रतिस्पर्धा गर्न नसकी उद्योग नै बन्द गर्नु पर्ने अवस्था देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्युत् प्राधिकरणको घाटालाई न्यूनीकरण गर्ने नाममा उद्योग माथि नै थप भार बेहोर्ने गरी मात्र विद्युत् आपूर्ति गर्ने नेपाल विद्युत् प्राधिकरणको नीति व्यवहारिक देखिँदैन ।’ स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धन गर्न नेपाल विद्युत् प्राधिकरणबाट उद्योग क्षेत्रमा गरिएको अघोषित लोडसेडिङ अविलम्ब खारेज गरी उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गरिएको उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =