घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिँदै

लमजुङ । लमजुङको प्रसिद्ध पर्यटकीय गाउँ घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिने भएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आउँदो वैशाख २ गते  घलेगाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले जानकारी दिएको हो ।

गाउँमा सुशासन कायम, पर्यटकलाई विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयआत्मनिर्भरपन गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसंगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’ घोषणा गर्न लागिएको समितिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए ।

♦ याे पनि:
   सुखीहरूको गाउँ ‘घलेगाउँ’

२०५७ साल वैशाख २३ गते प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो । घलेगाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो ।

२०६४ फागुनमा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज)का साथै २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरेको छ । घलेगाउँमा सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवा पुगिसकेको छ ।

वैदेशिक रोजगारमा जानेको संख्या घट्दो छ भने बसाइँ सराइ गरेर गएकाहरू गाउँ फर्कन थालेका गुरुङ्गले बताए । उनकाअनुसार एक सय ३५ घरधुरी रहेको घलेगाउँमा ४२ घरधुरीले होमस्टे चलाएका छन् ।

स्थानीयबासिन्दाले भेडाको ऊन, निगालो साथै अल्लोबाट हस्तकलाका सामग्री उत्पादन गरी आय–आर्जन बढाएका छन् । अन्य परम्परागत पेशा, व्यवसायको पनि जगेर्ना गरिएको छ । यसले यहाँको दीगो आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउनुका साथै प्राचीन सभ्यता र संस्कृति संरक्षणमा थप मद्धत पुगेको छ ।

गाउँमा प्राचीन इतिहास झल्काउने संग्रहालय, स्थानीय बासिन्दाले संरक्षण गरेको पर्यावरण, परम्परागत संस्कार र संकृति, सामुदायिक चिया बगान र प्राचीन सभ्यताको झल्को दिने सामुदायिक भेडीगोठ लगायतको अध्ययन अवलोकन गर्न बर्षेनी ४० हजार भन्दा बढि पर्यटक घलेगाउँ आउने गरेका उनले बताए ।

पर्यटक आगमनको वृद्धिले यहाँको ग्रामीण जीनवस्तर माथि उठ्नुका साथै पर्यावरण र संस्कृतिको जगेर्ना भएकाले पनि यहाँको पर्यटन प्रवद्र्धनमा मद्धत पुगेको क्वलहोलासोँथर गाउँपालिकाका अध्यक्ष समेत रहेका घलेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *