‘साना दल’लाई आफ्नै चुनाव चिह्न दिने आयोगको निर्णय

काठमाडाैँ । निर्वाचन आयाेगले राष्ट्रिय मान्यता पाएकाबाहेक दल [साना दल] हरूलाई पनि उनीहरूकै चुनाव चिह्न दिने निर्णय गरेकाे छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरूलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको छ । ‘उनीहरूलाई पनि आफ्नै चुनाव चिह्नबाट निर्वाचनमा जाने वातावरण दिने निर्णय आयाेगले गरेकाे छ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले भने, ‘अब उनीहरूले पनि सम्बन्धित चुनाव चिह्नबाटै चुनाव लड्न पाउँछन् ।’

स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था छ । साना दलहरूले भने आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले ती दललाई कुन कुन जिल्लामा संगठन संरचना छ भनी जिल्लागत विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको छ ।

यसअनुसार काठमाडाैँमा सबभन्दा धेरै राष्ट्रिय मान्यताप्राप्त ६ र मान्यता नभएका ४० दल भएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदवारका लागि पनि चुनाव चिह्न राख्नुपर्छ, यसले मतपत्रको आकार ठूलो हुनसक्छ । तर काठमाडाैँलगायतका ठूला स्थानीय तहमा उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्न प्रयास हुने प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =