केन्द्रीय कार्यसमिति बैठकमा देउवाको प्रश्न- गठबन्धन नगरे जित्ने आधार के त ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधान मन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनमा गठबन्धनलगायतका विषयमा छलफल गर्न बसिरहेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले गठबन्धन गर्दा पार्टीलाई कुनै घाटा नहुने भन्दै गठबन्धन गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा उठेका प्रश्नहरूको जवाफमा सभापति देउवाले गठबन्धन गरेर चुनाव लडे सबै सिट जितिने दाबी पनि गरे । गठबन्धन नहुँदा अघिल्लोपटक धेरै उम्मेदवारले हार्नुपरेको स्मरण गराउँदै देउवाले धेरै सिट जित्न चाहने हो भने गठबन्धनको विरोध गर्न नहुने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को के उपाय छ ?’

बैठकमा सभापति देउवाले द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिएको भए पनि अहिले ती कुरा सम्झिएर नहुनेमा जोड दिए । ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन,’ उनले भने, ‘त्यसकारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’

आजको बैठकमा नेता शेखर कोइरालाले गठबन्धन गर्न नहुने र गर्नैपरे केन्द्रबाट नभइ स्थानीय तहका आवश्यकताका आधारमा गरिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *