पीएनजीलाई हराउँदै त्रिदेशीय शृंखलामा नेपालकाे विजयी शुरुवात

काठमाडौँ । त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनि (पीएनजी) लाई हराएको छ ।

१ सय ८४ रनको लक्ष्य पछ्याएएको पीएनजीलाई ४ बल बाँकी छँदै १६८ रनमा सिमित गर्दै नेपालले  १५ रनको  जित हात पारेको हो ।

एक समय जितोन्मुख रहेको पीएनजीलाई हराउन १९ औँ ओभरमा करण केशीले लिएका २ विकेटको महत्वपूर्ण भूमिका रह्यो । उनले १९ औँ ओभरका अन्तिम २ बलमा दुई विकेट लिँदै पीएनजीलाई दबाब बढाए । २९ बलमा ५२ रन बनाएर आक्रामक इनिङ खेलिरहेका पीएनजीका नोर्मन भानुवा आउट भएपछि नेपाल खेलमा फर्किएको थियो । करणले लगत्तै बलमा सिमोन अटाइलाई पनि आउट गरे । २० औँ ओभरको दोस्रो बलमा एेले नाओ रनआउट भएसँगै नेपाल विजयी भएको थियो ।

नेपाललाई जिताउन करण र सन्दीप लामिछानेले ३–३ विकेट लिए । यस्तै, अभिनाश बोहोराले २ र सोमपाल कामीले १ विकेट लिए ।

सोमपालले ४ ओभरमा ४४ रन खर्चिए । यस्तै करणले ४ ओभरमै ४४, अभिनाशले २९ रन खर्चिए । १ ओभर बलिङ गरेका आरिफले १४ रन दिए ।

यसअघि कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेपालका आसिफ शेख ४३, रोहित पौडेल ३४, आरिफ शेख ३१ र कुशल भुर्तेलले २० रन बनाए ।

यसअघि घरेलु मैदानमै भएका दुई वटा एकदिवसीय खेल हारेकेा नेपालले याे जितसँगै केही राहत महसुस गरेकाे छ ।

प्रतियोगितामा नेपालले पर्सि मलेशियासँग खेल्नेछ ।

टी-ट्वेन्टी त्रिकोणात्मक शृंखलामा नेपालका खेल 
चैत १४  – नेपाल र पपुवा न्युगिनी
चैत १६ – नेपाल र मलेसिया
चैत १७ – नेपाल र पपुवा न्युगिनी
चैत १९ – नेपाल र मलेसिया

फाइनल चैत २१  – शीर्ष दुई टोली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *