हतारमा हस्तान्तरण, फुर्सदमा बन्दै पोखरा विमानस्थल

काठमाडौँ । सरकारबाट बाहिरिने सुनिश्चित भएपछि जसरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन धरहराको भव्य उद्घाटन गरे । तर, उद्घाटन गरेको १ वर्ष हुन लाग्दासमेत धरहरा सञ्चालनमा आउन सकेको छैन । त्यही कामको झल्को दिने गरी चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘सिम्बोलिक की’ हस्तान्तरण गरे । सामाजिक सञ्जालमा यसको आलोचना समेत भइरहेको छ ।

त्यसो त ३ दिनको भ्रमणमा नेपाल आएका विदेशमन्त्रीका लागि निर्माण सकिने अवसर कुर्न सम्भव थिएन । निर्माण सकिएपछि उनी नेपालमा आएर उक्त विमानस्थल हस्तान्तरण गर्ने कार्यतालिका बन्न सकेन । यसैले पनि हतारमा हस्तान्तरण गर्नुपर्ने बाध्यता आइलाग्यो । निर्माणै नसकी हस्तान्तरण गरिएको भए पनि यो कदमले चीनको सहयोग(ऋण)मा नेपालमा निर्माण भएका परियोजनाबारे विश्वलाई सम्झाइ दिएको छ ।

यद्यपि यसमा अर्को एउटा आलोचना पनि प्रखर रूपमा उठेको छ– ‘कुनै बैंकसँग ऋण लिएर आफूले बनाएको घरको हस्तान्तरण बैंकका सञ्चालकले घरधनीलाई गर्नु कत्तिको उचित हो ?’ नेपाललाई चीनले दानमा उक्त विमानस्थल बनाइदिएको होइन । विमानस्थल बनाउन ऋण दिएको हो । त्यसैले उक्त विमानस्थल हस्तान्तरण गर्नु आवश्यक थिएन भन्नेहरू पनि छन् । तर, पोखरा विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मी भन्छन्– ‘हामीले विमानस्थल हस्तान्तरण भनेका छैनौँ, निर्माण सकिएका मुख्य संरचनाको सांकेतिक हस्तान्तरण गरिएको हो ।’

चीनको एक्जिम बैंकले दिएको करिब २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको हो । उक्त ऋणमध्ये ७५ प्रतिशत ऋणको ब्याज वार्षिक २ प्रतिशत र २५ प्रतिशत ऋणको ब्याजदर शून्य प्रतिशत रहेको छ । त्यसैले यो चिनियाँ ऋणमै बनेको आयोजना हो ।

खैर आवश्यक नै नभए पनि चिनियाँ विदेशमन्त्रीले विमानस्थल हस्तान्तरण गरे । तर, विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन अझै ६ महिना लाग्ने देखिन्छ ।

विमानस्थल निर्माणको काम ९३ प्रतिशत मात्रै सकिएको छ । धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सकिएको छ । तर, विमानस्थलको फिनिसिङ, डेकोरेटिङसहितका केही संरचना निर्माण गर्न बाँकी नै छ ।

‘आगामी असारसम्ममा निर्माणका सबै काम सक्ने तयारी छ,’ उनले भने, ‘त्यसपछि भने क्यालिब्रेशन फ्लाइट गर्ने तयारी छ ।’ यस हिसाबले विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउन अझै ३ देखि ६ महिना लाग्ने देखिएको छ ।

नेपाली पक्षको काम बाँकी
‘ल्याण्डफिल साइट’ व्यवस्थापन, विमानस्थलको पूर्वपट्टीको रिठ्ठेपानी डाँडा कटान र ‘फ्युल स्टेशन’ निर्माणको काम नेपाली पक्षले गर्नुपर्ने छ । तर, यो कामका लागि भर्खर कागजी प्रक्रियामात्रै अघि बढेको छ । विमान उडान र अवतरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकाओ)का मापदण्डअनुसार रिठ्ठेपानी डाँडा ४० मिटर कटान गर्नुपर्ने देखिएको हो ।

‘डाँडा काट्न वनसँग अनुमति लिने काम भइरहेको छ,’ मुनकर्मीले भने, ‘अब यो काम अघि बढ्छ ।’ उनका अनुसार १ महिनाभित्र १४ मिटरसम्म डाँडा कटान गर्न सकिन्छ । त्यसपछि क्यालिब्रेसन उडान गर्न मिल्ने हुन्छ । ४० मिटर नै कटान गरिसक्न झण्डै ६ महिना लाग्छ ।

यो विमानस्थलमा व्यावसायिक उडानका लागि उडान–अवतरणका लागि रुट अनुमति भारतीय आकाशको समेत लिनुपर्ने हुन्छ । उक्त काम समेत हाल प्रक्रियामै रहेको छ ।

एक वर्ष ढिलो सकिँदै निर्माण
२०७४ मा सुरु भएको विमानस्थल निर्माण कार्य सन् २०२१ जुलाई १० भित्रमा काम सकेर हस्तान्तरण गर्नुपर्ने सम्झौता छ । कोरोना सङ्क्रमणका कारण विमानस्थलको काम रोकिएकाले गत वर्ष थप एक वर्ष म्याद थपिएको थियो ।

विमानस्थल निर्माणका लागि सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो । त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र नागरिक उड्डयन प्राधिकरण(क्यान)बीच सहुलियत ऋण सम्झौता भएको थियो ।

चीनको एक्जिम बैंकले सन् २०१७ को मे ३१ मा ऋण स्वीकृत गरेकामा सन् २०१८ फेब्रुअरी २५ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम बैंकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चितता भएपछि निर्माण कार्य अघि बढाइएको थियो ।

इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओको मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गरिएको हो । यस विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका ‘न्यारोबडी’ विमान उडान तथा अवतरण गर्न सकिने छ ।

कसरी तिर्ला नेपालले विमानस्थलको ऋण ?
अति दुर्गम, विकट हिमाली तथा पहाडी भू-भागमा यातायातका लागि प्रयोग गरिने विमानस्थलहरू सञ्चालनमा नागरिक उड्डयन प्राधिकरणलाई व्यावसायिक लाभ छैन । तर, खास गरी शहरी, पर्यटकीय, राजधानी जस्ता क्षेत्रमा विमानस्थल सञ्चालनमा प्राधिकरणलाई घाटा पनि छैन । अर्को कुरा पोखरा पर्यटकीय क्षेत्र भएकोले यहाँको विमानस्थलमा यात्रु र विमानको चाप बढ्ने अनुमान गरिएको छ ।

विमानस्थलमा पार्किङ, ल्याण्डिङ, पसल कबलहरू, विभिन्न शुल्क, ह्याङगिङलगायत शुल्कले विमानस्थलको आम्दानी राम्रो हुने अपेक्षा गरिएको छ । त्यसो हुँदा २२ अर्ब चिनियाँ ऋण चुकाउन खासै ठूलो समस्या नपर्ने प्राधिकरणको भनाइ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *