यस्तो बन्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (तस्बिरहरू)

पोखरा । चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार प्रधान मन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् ।

भर्चुअल र प्रत्यक्ष दुवै माध्यमबाट भएको कार्यक्रममा साँचो हस्तान्तरण भएलगत्तै पोखरामा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई कदरपत्र प्रदान गरे । विमानस्थलका आयोजनाको ९३ प्रतिशत काम सकिएको छ ।

विमानस्थल डेकोरेशन, फिनिसिङलगायतका काम बाँकी छ । विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको छ ।

गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएको भए पनि कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको थियो । विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ । विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *