म्यादी प्रहरीका लागि दुई लाख ८९ हजार आवेदन

काठमाडाैँ । स्थानीय तहको निर्वाचनका लागि मागिएको म्यादी प्रहरी भर्नामा झन्डै तीन गुणा बढी आवेदन परेको छ । एक लाख म्यादी प्रहरी भर्ना मागिएकोमा दुई लाख ८९ हजार चार सय ३१ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा ५९ हजार चार सय ८९ महिला छन् ।

शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । भर्नामा निकै उत्साहजनक रूपमा देशैभरि दरखास्त परेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । सबैभन्दा धेरै दरखास्त मधेस र लुम्बिनी प्रदेशमा परेको छ । मधेसमा ६८ हजार ४९ तथा लुम्बिनीमा ५६ हजार एक सय ७४ दरखास्त परेको छ ।

त्यस्तै, प्रदेश १ मा ४९ हजार तीन सय ४२, बागमतीमा ४४ हजार तीन सय ८२, सुदूरपश्चिममा २८ हजार ६ सय एक र गण्डकीमा २४ हजार तीन सय ६९ दरखास्त परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबैभन्दा कम कर्णालीमा १८ हजार पाँच सय १४ दरखास्त छ । उपत्यकाका तीन जिल्लामा १३ हजार नौ सय ५० जनाले म्यादीमा भर्ना हुन इच्छा देखाएका छन् ।

पहिलो दिन आइतबार ३० हजार दुई सय ९९, सोमबार ५३ हजार दुई सय ९९, मंगलबार ५७ हजार एक सय ७६, बुधबार ५८ हजार दुई सय २१, पाँचौँ दिन बिहीबार ५१ हजार दुई सय १६ र अन्तिम दिन शुक्रबार ३९ हजार दुई सय पाँचजनाले आवेदन दिएका छन् ।

हरेक जिल्लाको संख्या तोकेर म्यादी प्रहरीमा भर्ना प्रक्रिया अघि बढाइएको छ । दरखास्त दिएकालाई आइतबार सम्पर्क गर्न भनिएको छ । १५ चैतदेखि छनोट प्रक्रिया सुरु हुने र २२ गते अन्तिम नतिजा प्रकाशन गरिने एसएसपी केसीले जानकारी दिए । शारीरिक तन्दुरुस्ती र अन्तर्वार्तामार्फत छनोट हुनेछ ।

२८ गतेदेखि प्रशिक्षण हुनेमा उनीहरूले ४० दिनको तबल–भत्ता पाउँछन् । उनीहरूले ३० हजार दुई सय ४० तलब, सात हजार दुई सय रासन भत्ता, ६ हजार पोसाकलगायत भत्ता खरिदका लागि पाउनेछन् । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =