लघुकथा : परिपक्वता

काठमाडाैँ । “ला हौ सबै फुलिपोसकेछ साग त अब तितो हुन्छ सबै !” करेसाबारीमा पुगेपछि एक्कासी बोलेछु म ।

“श्रावणदेखि लुछेको चैत्र जान आँटिसक्यो, कति फल्नु त फुल्नु परेन हाम्लेचाहिँ । यौवन सकिहाल्यौ तिमेर्ले लुछेर; अब फुलेपछि तितो हुन्छ भनेर अलि कम गर्छौ कि त लुछ्नलाई ! कति खाएर नि कहिल्यै नअघाउने यो मान्छेको जात !” साग अलि झर्कियो ।

म जवाफविहीन उभिएको देखेर साग सान्त्वना दिन थाल्यो ‘फुल्नु भनेको परिपक्व हुनु पनि त हो नि मान्छे तिमी बुझ्दैनौ र पो, तिमेरू पो अलिअलि फूल्न आँट्यो कि कलर दलिहाल्छौ अनि सधैँ ठेट्नै रहन्छौ कहिल्यै परिपक्व हुँदैनौँ । यदि तिमी परिपक्व भएको भए सरकारले लकडाउन गरेको चर्चा गर्नसमेत चोकमै पुग्थ्यौ र ! भीडभाड नगर्नु भनेर सूचना जाहेर गर्ने मन्त्री आफैँ सयौं जना पत्रकार भेला गरेर सम्मेलन गर्थ्यौ र ! अनि भीडभाड गर्न हुन्न भनेर समाचार सम्प्रेषण गर्ने पत्रकार आफैँ टोपी झिकेर कुद्थ्यो र भीड थप्न ! अनि टीभीमा सुन्नासाथै त्यही खबर भाइरल बनाउन चोकमा भीड गर्न पुग्थ्यो र जनता ! यी सबै त अपरिपक्वताको परिणाम हो नि मान्छे !’

म नि:शब्द टोलाइरहेँ… साग फुलिरहेकाे हेरिरहेँ… आफ्नै करेसाबारीमा… ।

आहा ! यसगरी फुल्न पाए म पनि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *