पीएनजीसँग नेपाल पराजित

काठमाडौँ । एकदिवसीय क्रिकेटमा नेपाल पपुवा न्युगिनी (पीएनजी) सँग ६ रनले पराजित भएको छ । कीर्तिपुरमा २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको खेलमा नेपालले ३ रन मात्र जोड्न सक्यो । सोमपाल कामी र कमलसिंह ऐरी १८-१८ रनमा अविजित रहे ।

नेपालका रोहित पौडेलले कीर्तिमानी प्रदर्शन गरेपनि जितका लागि पर्याप्त भएन। एकदिवसीयमा नेपालका तर्फबाट सर्वाधिक रन बनाउने क्रममा उनले १२६ रन जोडे । उनले १०७ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । उनले पारस खड्काको सर्वाधिक रनको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

रोहित एकदिवसीयमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी पनि बनेका छन् । उनले आरिफ शेखसँग पाँचौं विकेटका लागि १०४ रनको कीर्तिमानी साझेदारी पनि गरे । यसअघि रोहित र आरिफले नै एकदिवसीयमा सर्वाधिक एक सय रनको साझेदारी थियो । रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै अर्धसतक बनाउने नेपाली खेलाडी पनि बनेका छन् । यो उनको एकदिवसीयमा पाँचौँ अर्धशतक हो । नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४ र पारस खड्काले २ अन्तराष्ट्रिय अर्धशतक बनाएका छन् ।

नेपालका लागि आरिफले ३४  र कुशल भुर्तेलले ३२ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेट गुमाएर २९२ रन बनाएको थियो ।

नेपालका सोमपाल कामी, कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले दुई, दुई तथा सन्दीप लामिछाने र पवन सर्राफले एक एक विकेट लिए । पीएनजीका चाल्र्स अमिनीले ७७, असाद भालाले ६०, नोर्मन भौनाले ४७ र टोनी उराले ३८ रन बनाए ।

यसै हप्ता यूएईमा भएकाे लिग टु अन्तर्गतका दुबै खेलमा नेपालले पीएनजीलाई हराएकाे थियो । लिग टू को टिममा रहेका ज्ञानेन्द्र मल्ल करण केशी र विनाेद भण्डारी अहिले नेपालको टिममा परेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *