प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्दै बजेट ल्याउन आग्रह

काठमाडाैँ । नीजि क्षेत्रका प्रतिनिधिहरूले प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्नेगरी आगामी वर्षको बजेट आउनुपर्ने धारणा राखेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले आगामी बर्ष आकारमा भन्दा पनि प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन हुनेगरी बजेट आउनुपर्ने धारणा राखेका हुन् । बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चुस्त दुरुस्त बजेट ल्याउनुपर्ने सुझाव दिए ।

ठूलो आकारको बजेट ल्याएर पटकपटक सच्चाउनुपर्ने अवस्था आउन नहुने र बजेटमा डुप्लिकेशन हुन नहुने उनकाे भनाई छ ।

त्यस्तै, उनले विकास खर्च समयमा नसकिदा समस्या देखिने गरेको भन्दै वर्तमान सरकारले यसअघिको कमी कमजोरीलाई सच्चाउँदै बजेट ल्याउनुपर्ने बताए । उनले भारतीय पर्यटकलाई मध्यनगर गर्दै भारु ५ सय र २ हजारका नोट नेपालमा चल्ने व्यवस्था गर्न सुझाव दिए ।

त्यस्तै, बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सन्दिप अग्रवालले नेपालमा भारतीय पर्यटकको सहजताका भारतीय नोटको कारोबारलाई नेपालमा वैध बनाउनुपर्ने बताए । त्यस्तै, उनले कृषिमा आयकर पूर्ण छुट दिनुपर्ने, आयातलाई बढावा हुने गरि उचित व्यवस्था हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै, होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले पर्यटकलाई आकर्षित गर्न सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताए । कोरोना प्रभावित होटल व्यवसायलाई उकास्न सहयोग पुग्ने प्रकारको बजेट सरकारले ल्याउनुपर्ने उनले बताए ।

त्यस्तै, नेपाल चेम्बर आफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले विदेशी मुद्राको सञ्चिती हेर्दा आर्थिक गतिविधि गर्न समस्या भएको भन्दै यसमा विशेष ध्यान दिनुपर्ने बताए । समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि नीजि क्षेत्रबाट सुझाव लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =