कांग्रेस विपक्षमा रहेको सुदूरपश्चिममा के होला गठबन्धन ?

धनगढी । प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम राख्ने बताउँदै आएका छन् । तर महामन्त्री गगन थापासहित केही प्रभावशाली नेताहरूले भने गठबन्धन दलहरूबीच चुनावी तालमेलल गर्न नहुने अभिव्यक्ति दिइरहेका छन् ।

यसको मतलव कांग्रेसले अझै पनि आधिकारिक रूपमा आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लगाइसकेको छैन । सत्ता गठबन्धनमै रहेको विशेष गरि नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादी गठबन्धन दलहरू मिलेर चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् ।

अर्कोतर्फ कांग्रेसबाट गठबन्धनबारे नेता पिच्छे फरक अभिव्यक्ति आइरहँदा माओबादी केन्द्र र एकीकृत समाजबादी पनि अहिले अन्यौलमै छन् । माओवादी केन्द्रका अध्यक्ष कहिले एमालेसँग पनि चुनावी तालमेल हुनसक्ने अभिव्यक्ति रहेका छ भने कहिले एक्ले पनि चुनावमा होमिनुपर्ने बताइरहेका छन् । एकीकृत समाजबादी भने अहिलेसम्म गठबन्धन जारी राख्नुपर्छ भन्ने पक्षमा छ । चुनावी तालमेलबारे सत्ता गठबन्धन दलबीच केन्द्रमा देखिएको यो पछिल्लो अवस्था हो ।

तर सुदूरपश्चिममा भने कांग्रेसमा सत्ता गठबन्धन दलबीचको सहकार्य आगामी निर्वाचनसम्म हुन नहुने आवाज चर्को छ । यसको प्रमुख कारण सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष छ । केन्द्रमा सत्ता गठबन्धनमै रहेका माओबादी केन्द्र र एकीकृत समाबादी सरकारमा छन् । कांग्रेसलाई सरकारमा सहभागि गराउनेबारे प्रदेश सरकारले कहिल्यै चासो देखाएन ।
केही दिनअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पनि सत्ता गठबन्धन दलबीच निर्वाचनमा तालमेल नहुने बताए ।

नेपाली कांग्रेसले बनाएको संविधानको रक्षा कांग्रेस एक्लैले गर्नुपर्ने भन्दै उनले भने, ‘सुदूरपश्चिममा गठबन्धन छैन, हुँदैन पनि । कांग्रेसले रुख चुनाव चिन्हबाहेक अन्यमा भोट हाल्नैन ।’ गाउँ–गाउँमा गएर कम्युनिष्ट सरकारले गरेका गलत कामको भण्डाफोर गर्नुपर्ने भन्दै उनले गठबन्धनका नाममा पेलिन नहुने बताएका थिए । उनको यस अभिव्यक्तिको यहाँका कांग्रेस नता कार्यकर्ताले समर्थन पनि गरेका थिए ।

सुदूरपश्चिममा प्रदेश सभापतिसहितका नेता कार्यकर्ताले चुनावी गठबन्धनविरुद्ध आवाज उठिरहेका बेला प्रधान मन्त्री पत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले धनगढी पुगेर सत्ता गठबन्धन दलबीचको सहकार्य चुनावसम्म कायम रहने अभिव्यक्ति दिइन् । प्रेस युनियन कैलालीले विहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नै प्रदेश सभापतिको अभिव्यक्तिलाई काट्दै सत्ता गठबन्धनबीच आगामी चुनावमा तालमेल हुने बताएकी हुन् ।

धनगढीस्थित उनकै निवासमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै उनले भनिन्, ‘सत्ता गठबन्धन दलहरूबीच आगामी चुनावमा पनि गठबन्धन गर्ने सम्झौता छ । सोही अनुसार गृहकार्य भइरहेको छ ।’

कांग्रेसका प्रदेश सभापति र केन्द्रीय सदस्य राणाबीच फरक खाले अभिव्यक्ति आएपछि कांग्रेसका नेता कार्यकर्तामा थप अन्यौलता सृजना भएको छ । यद्यपि सुदूरपश्चिम प्रदेशमा कांग्रेस प्रमुख प्रतिपक्षमै रहेका कारण पनि आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नुहुन्न भन्ने मत बलियो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *