कर्णालीमा चुनावी चटारो : छैनन् एजेण्डा, पार्टी प्रवेशको फण्डा

सुर्खेत । कर्णाली प्रदेशमा राजनीतिक दलहरू आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनावमा केन्द्रित भएका छन् । जिल्लादेखि केन्द्रसम्मका नेताहरू चुनावी एजेण्डाभन्दा पनि पार्टी प्रवेश गराउने प्रतिस्पर्धामा लागेका छन् ।

पछिल्लो एक हप्तामा मात्रै मुख्य राजनीतिक दलहरूका शीर्ष नेताहरू पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पुगेका छन् । उनीहरूको प्रशिक्षण पश्चात् कर्णालीमा टोल, गाउँ सभा र पार्टी प्रवेशलगायत चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिइएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिले थालेको ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई कांग्रेस सुर्खेतले निरन्तरता दिँदै कार्यक्रम थालेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायत दल चुनावी माहौल बनाउन गाउँ-गाउँ छिरेका छन् ।

नेकपा एमाले कर्णाली प्रदेशले फागुन १३ र १४ गते दुईदिने प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण भेला गरेको छ । भेलाले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ ।

चैत ६ गते एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेर काठमाडौँ फर्किएका छन् । उनले नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक रहेका ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गराएका थिए । गत फागुन २७ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीबारे प्रशिक्षण दिन वीरेन्द्रनगर पुगेकै दिन विष्टले पार्टीसँगै सांसद पद त्यागेको घोषणा गरेका थिए । वीरेन्द्रनगर नगरपालिका-१४ मा नेकपा (माओवादी केन्द्र)का वडा इन्चार्ज सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान
नेपाली कांग्रेसले कर्णालीका विभिन्न नगर तथा टोलमा ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई निरन्तरता दिँदै कार्यक्रमहरू आयोजना गरेको छ । गत फागुन २६ गते सुर्खेतको सिम्ता गाउँपालिका-८ डाँडाखालीमा नेकपा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

यो अभियानका क्रममा कांग्रेसमा प्रवेश गरेका ५७ घरधुरीका १७१ जनालाई औपचारिक रूपमा स्वागत गरिएको नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. १ क प्रदेश कार्यसमितिका सदस्य गंगाराम सापकोटाले बताए ।

समाजवादीको निर्वाचन समन्वय कमिटी
यस्तै, नेकपा एकीकृत समाजवादी सुर्खेतले निर्वाचन समन्वय कमिटीको जिम्मेवारी बाँडफाँट गरेको छ । आगामी चुनावमा कसरी पहिलो बन्ने गरी रणनीति तयार गर्न निर्वाचन समन्वय कमिटी बनाइएको पार्टी जिल्ला अध्यक्ष मोहनसिंह बडुवालले जानकारी दिए ।

उनकाअनुसार निर्वाचन समन्वय कमिटी अन्तर्गत सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा (क), प्रदेश सभा (ख) त्यस्तै सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २, प्रदेश सभा(क), प्रदेश सभा(ख) गठन गरिएको छ ।

कर्णालीमा शक्ति प्रदर्शन गर्ने माओवादीको रणनीति
नेकपा (माओवादी केन्द्र)ले कर्णालीमा शक्ति प्रदर्शन गर्ने रणनीति लिएको छ । गत फागुन २७ गते पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डले वीरेन्द्रनगरमा नेता कार्यकर्तालाई प्रशिक्षण दिएर फर्किएका छन् ।

प्रचण्डले कर्णाली माओवादीको आधार इलाका रहेको भन्दै कर्णालीमा माओवादी आगामी चुनावमा एक नम्बर पार्टीका रूपमा आउनुपर्ने भएकाले त्यसैअनुसार तयारी थाल्न निर्देशन दिएका छन् । उनले त्यही दिन जाजरकोट जिल्ला समन्वय समितिका उप-प्रमुख ज्ञानीप्रसाद आचार्यसहित १० जना नेता कार्यकर्तालाई माओवादीमा स्वागतसमेत गरेका थिए । माओवादीले कर्णालीका विभिन्न जिल्लामा प्रदेशस्तरका नेतालाई खटाएर प्रशिक्षण र पार्टी प्रवेशका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।

चुनावी माहौल बनाउन खट्दै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि कर्णालीमा चुनाव केन्द्रित भएको छ । गत फागुन २८ गते शनिबार पार्टीले चुनाव लक्षित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आमसभा गरेको छ ।

आमसभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बाेधन गरे । उनले स्थानीय तहसम्म भ्रष्टाचार फैलिएको भन्दै स्थानीय तहलाई भ्रष्टाचाररहित बनाउन राप्रपाले मात्र सक्ने दाबी गरे । यसपालिको निर्वाचनमा स्थानीय तहमा उच्चशिक्षा, संस्कारको राजनीति सिकाउनेलगायतका विषयमा हाम्रो पार्टी अगाडी बढेको उनले बताए ।

दलहरू चुनाव केन्द्रित भएपनि उनीहरू चुनावका कुनै एजेण्डाभन्दा अर्को पार्टीका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कुरामै केन्द्रित रहेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *