राजतन्त्रबारे कुरो नमिल्दा टर्याे विवेकशील साझा र राप्रपाको एकता

काठमाडौँ । राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीबीचको एकताको एजेन्डा तुहिएको छ । ‘संवैधानिक राजतन्त्र’को मुद्दामा कुरा नमिलेपछि पार्टी एकताको एजेन्डा तुहिएको/सकिएको स्रोतले बतायो ।
दुई पार्टीबीच मंगलबार साँझ एकताका लागि छलफल भएको थियो । सोही छलफलबाट पार्टी एकताको मुद्दा तुहिएको स्रोतको भनाइ छ । ‘संवैधानिक राजतन्त्रकै विषयमा कुरा मिलेन’, स्रोतले मकालुखबरसँग भन्यो, ‘यसपछि राप्रपा र विवेकशील साझाबीचको एकताको विषय तुहियो ।’
यसबीचमा राप्रपाका तर्फबाट अन्य दलसँग एकता वा चुनावी गठबन्धनका लागि महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा कार्यदल नै बनाएको थियो । उक्त कार्यदलले नै हिजो साँझको छलफलको अगुवाइ गरेको थियो तर संवैधानिक राजतन्त्रको विषयमा कुरा मिलेन ।
स्रोतकाअनुसार नाम भने राप्रपा साझा वा साझा राप्रपा हुनुपर्ने विवेकशील साझा पक्षको माग थियो भने राप्रपा पक्षले राप्रपालाई नै स्वीकारेर आउन माग गरेको थियो । चुनाव चिह्न भने ‘हलो’ नै मान्न विवेकशील साझा राजी भएको थियो ।
भेटमा अध्यक्ष मिश्रले शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्ले चुनेको गैरदलीय राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति राष्ट्रपति हुने र सांसद मन्त्री बन्न नपाउने वकालत गरेका थिए ।
याे सँगै यी दुई दलबीचको पार्टी एकताको सम्भावना तत्कालका लागि तुहिएको छ ।








