दोबाटोमा शिरिषको फूल

‘शिरिषको फूल’ एक ‘आम’ उपन्यास हो । थियो होला कुनै समय जतिबेला यसलाई ‘खास’ भनिन्थ्यो होला, तर अब यो खासभन्दा पनि आम भइसकेको छ । उपन्यास उत्कृष्ट हुन ‘खास’ हुन पर्दैन र ‘खास’ हुँदैमा उपन्यास उत्कृष्ट हुन्छ नै भन्ने पनि सायद हुँदैन । शिरिषको फूललाई ‘पारिजात’को खास उपन्यास भनेर खास-खास मान्छेले मात्रै पढ्न पर्छ भन्न खोजिएको पक्कै पनि होइन होला ।

चौंथो आयाम नाट्य समूहका रङ्गकर्मीहरू अन्जान प्रदीप, केदार श्रेष्ठलगायतले उपन्यासको नाट्य रूपान्तरण गरेर शिरिषको फूललाई आम मानिसको बनाइदिए । यस अर्थमा यहाँहरूप्रति कृतज्ञ हुनुपर्छ ।

शिरिषको फूलले उठान गरेका विषय र विचारहरू अब आम बनिसकेका छन् । यस उपन्यासलाई बुझ्न शून्यवाद, विसङ्गतिवाद, अस्तित्ववादको रौँचिरा बुझ्नपर्दैन । आफ्नै जीवन र आफू बाँचेको समाजलाई बुझेको छैन भने दर्शन पढ्दैमा मात्र केही पनि बुझिँदैन। (मान्छे समाजभन्दा टाढा जन्मन्छ/जन्मन चाहेर जन्मन्छ ? मर्न चाहेर मर्छ ?) निस्सारता, असंगति र जीवनप्रतिको प्रेम बुझे हुँदैन र ?

विद्राेही बन्न मार्क्सवादी नै बन्न पर्छ ?
नारीवादी बन्न पुरुषवादी नभए हुँदैन ? मान्छेले ढोङ्ग गर्नै पर्दैन नि किनकी मान्छे यथार्थमा ढोङ्गी हुन्छ ।

शिरिषको फूल उपन्यास हुँदै नाटकसम्म पुग्न छुट्टै बाटो चाहिन्छ ।

यस्ता दुईवटा बाटा छन् : एउटा आजसम्म हामीले हिँडिसकेको बाटो हो, अर्को अब हामीले हिँड्नपर्ने बाटो हो ।

उहिलेदेखि अहिलेसम्म हिँडिसकिएकोले यो बाटो निकै घुमाउरो हुनु स्वाभाविक हो । अब हिँड्नपर्ने बाटो सिधा हुनसक्छ । नभए सिधा बनाउनु पर्छ ।

‘सुयोगवीर’ लड्खडाउँदै हिँडेको यही घुमाउरो बाटो हो । यो बाटो यति फेरो अर्थात् घुमाउरो छ, कि उसको बाटो पर्खदै थकित ‘सकम्बरी’को मनोदशाले दर्शकलाई थकाउनुपर्ने हो । तर दुःखका साथ भन्नपर्छ- यसमा नाटकलाई गतिशीलता प्रदान गरिएको छ भनेर दर्शकलाई भ्रम हुन सक्छ । भ्रममा नपरौँ, यो नै सबैभन्दा घुमाउरो बाटो हो । यही बाटोमा हिँडेर यस उपन्यासलाई खास भनिएको, नत्र यो एक आम उपन्यास हो ।

एउटा हातले छुन नसकिने पहाडमाथि खुट्टाले टेकेर उभिने साहस हुनुपर्छ । अर्थ दिन नसकिने निस्सारताको चक्कर लगाएको लगायै गर्नु वा विसङ्गतिको वरिपरि घुमेको घुम्यै गर्नुले विवेकशील दर्शकलाई रिंगटा लाग्नुपर्ने हो तर अल्छी किमार्थ होइन ।

हिँड्नपर्ने बाटो अब सिधा छ । यही बाटोबाट हामीसम्म आइपुग्छे सकम्बरी (बरी) ।

उपन्यासकार पारिजातले देखाएको बाटो पनि यही हो । यही बाटो भएर नाटकसम्म पुग्नुपर्छ । पुगेर फर्कनु पर्छ ।

रोनाल्ड पिकेट भन्छन्, ‘नाटक भिन्न व्यक्तिका लागि भिन्नभिन्न अर्थ दिने रचना हो ।’ शिरिषको फूललाई मैले यस अर्थमा अर्थ दिएँ, शिरिषको फूलको गर्भगृह – उपन्यास/थिएटर, भावभूमि: भूमिका/कथानक गोलमटोल दुई पात्र निकाले- सुयोगवीर र सकम्बरी (बरी) छोटकरीमा मैले यति नै भनेँ:

पहिले : सकम्बरीमा गम्भीरता नै छैन । कति चञ्चल देखिएकी ?

हुन त गम्भीरता भनेको के हो ? जडवत् वस्तु मूर्तिवत् गम्भीर हुन्छ ? हुन्छ र हुँदैन पनि ।

मूर्ति यसकारण गम्भीर हुन्छ, किनभने आफ्नो आस्थामा सधैँ अटल रहन्छ ।

मूर्ति यसकारण गम्भीर हुँदैन, किनभने अरूको आस्थाको मतलब गर्दैन ।

निर्देशक र परिकल्पनाकारको आस्थाको मतलब सकम्बरीले कति गरेकी छ ?

सकम्बरीलाई गम्भीर नबनाइएको हो ? कि मूर्ति नबनाइएको हो ?

कि चञ्चलता नै गम्भीरताको चरम उत्कर्ष हो ?

सुयोगवीरको ओठलाई निलो तुथो सम्झनेले उसको फगत एक चुम्बनले किन थर्थरी कामेकी सकम्बरी ? काँप्नुपर्ने सुयोगवीरले थियो । कसैले काँप्दै काँप्दै झारेको फूल, झर्दै झर्दै काँप्छ ? झार्नेलाई कमाउँदै-कमाउँदै झर्छ ।

दोस्रो : स्वाँठ! सुयोगवीर कति अब्बल/बलशाली कति ?

सुयोगवीर न त सुयोग्य हो, न त वीर नै हो । अयोग्य र डरपोक हो ।

माफ गर्नुस नाट्यकर्मी मित्रहरू ! तर सुयोगवीरले सानै स्वर गरेको राम्रो । उसलाई जतिसक्दो दबाइएकै राम्रो । उसको भूमिकालाई खुम्च्याउन मिल्दैन, तर सकुंचित बनाउन जति पनि मिल्छ ।

यस सकुंचनले उपन्यासले/नाटकले दिने अर्थमा, पाठक/दर्शकको मनोविज्ञानमा गम्भीर फरक अर्थ राख्छ । नत्र त यो उपन्यास र नाटक एक पितृसत्तात्मक सोच राख्ने हार्न नसकेको भगौडा सिपाहीको जीवन-यौन कथा मात्रै बन्न जान्छ ।

जल्दबाजीमा होइन, एउटा पूर्णकदको स्थान चाहिन्थ्यो सुयोगवीरलाई पनि तर सम्मानजनक होइन ।

कि पूर्वीय नाट्यशास्त्रको धीरोद्दात्त/धीरललित/धीरप्रशान्तमध्ये एक आदर्श नायकको चरित्र सुयोगवीरमा खोजिएको हो ?
नाट्यशास्त्रले हाँकेको हो ? कि नाट्यशास्त्रलाई हाँक दिएको हो ? यो अब बिलकुल काम नलाग्ने भै-सकेको छ । यसलाई हाँक दिन लायक छैन । नाटकै हाँक्न त यसले झन सक्दैसक्दैन ।

नाटकबारे अरू पनि पात्रहरू छन् । समग्रमा नाटक हिँड्नपर्ने र सिधा बाटो भएरै हिँडेको छ, तर पटक-पटक सुयोगवीर ठेस खाँदैखाँदै हिँडेको छ जुन जरुरत थिएन । सुयोगवीरलाई थोरै मात्रै सकुंचित तुल्याए पनि यति धेरै ठेस लाग्ने थिएन नाटक हिँड्ने बाटोमा ।

संकुचन के नियन्त्रण पनि गरिएन । छाडा सुयोगवीरले झन् बढी ठेस पुर्यायो नाटकलाई ।

त्यसो भए ठेस सकम्बरीलाई लाग्ने होइन, नाटकलाई लाग्ने हो ।

घुमाउरो बाटोमा (नाटकभित्रै) अल्मलिने दर्शकलाई एउटै प्रश्न छ, तपाईंसम्म कसरी आइपुगिन तपाईंकी सकम्बरी ?
तपाईं आइपुग्दै तपाईंसम्म आइपुगेकी हो सकम्बरी ।

स्नेह र ममता चाहिएको भनेको होइन, विद्राेहको आवश्यकता छ ।

लाड-प्यारको के जरुरत ?

तपाईंंको मानसिकताको ‘सुयोग्यता’ र ‘वीरता’ (सुयोगवीर)को अर्थ खोजेको हो । परिवर्तन चाहेको हो ।

यही सुयोग्यता र वीरतामा विसङ्गति छ बन्धु !

नत्र उपन्यास लेख्नै पर्थेन/नाटक बनाउनै पर्थेन ।

नाटक हेरेपछि पनि तपाईंंको यो सोचमा बदलाब आएन भने मान्नुस कि यो नाटक बढीमा पारिजातको शिरिषको फूल उपन्यासको ‘असफल नाट्यान्तरण’ हो ।

तपाईं यहीँबाट फर्कनुपर्छ ।

अन्त्यमा, नाटकको सुरु र अन्त्यमा पूर्वदीप्ति (फ्ल्यासब्याक)को प्रसङ्गको प्रस्तुतीकरणले नाटकलाई कलात्मक र रसमय बनाएको छ ।

बिम्ब र प्रतीकको सफल समायोजन छ । बिम्ब भनेको शब्दचित्र हो । शब्द पढेर मस्तिष्कमा जुन चित्रर वस्तु आउँछ त्यो बिम्बस्वरूप हो । बिम्बद्वारा अमूर्त कुराबाट मूर्त वस्तुको बोध हुन्छ । प्रस्तुत वस्तुको मध्यमद्वारा अप्रस्तुत वस्तुको वर्णन गरिने प्रतीक हो । मूर्त वस्तुबाट अमूर्त कुराको बोध गर्न प्रतीकको उपयोग गरिन्छ ।

उपन्यास पढ्दा मैले बिम्बहरू निर्माण गरेको थिएँ, तिनै प्रतीकहरूलाई बुझ्न नाटक हेरेँ ।

  • तस्बिर : केदार श्रेष्ठको फेसबुकबाट 
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *