देउवा-काेइरालाबीच कुराकानी, भ्रातृ सङ्गठन र चुनावी तालमेलबारे छलफल

काठमाडाैँ । प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर काेइरालाबीच छलफल भएकाे छ । कांग्रेसभित्र छुट्टाछुट्टै समूहकाे नेतृत्व गरिरहेका दुई नेताबीच भातृ सङ्गठनहरू र आसन्न निर्वाचनमा अन्य दलहरूसँग हुने चुनावी तालमेलबारे छलफल भएकाे हाे ।

गत पुसमा सम्पन्न कांग्रेसको १४औं राष्ट्रि महाधिवेशनमा देउवाका निकटतम प्रतिस्पर्धी रहेका नेता कोइरालाले कार्यसम्पादन समितिको निर्णय कार्यान्वयनमा किन ढिलाइ भयो ? भनी सभापति देउवालाई सोधेका छन् । फाेन संवादका क्रममा जवाफमा सभापति देउवाले भनेका छन्— ‘सबैलाई समेटेर लानुपर्दछ । छिट्टै भातृ सङ्गठनहरूकाे तदर्थ समिति ल्याउनुपर्छ, यसमा सबैले पहल गराैँ । म सबैलाई समेटेर लाने कुरामा प्रतिबद्ध छु ।’

देउवा-काेइरालाबीच लामाे समयपछि संवाद भएकाे हाे । महाधिवेशनपछि सभापति देउवाले नेता काेइरालासँग औपचारिक छलफलसमेत गरेका थिएनन् । कांग्रेसले शुक्रबार केन्द्रीय समितिकाे बैठक बाेलाएकाे छ । त्यस बैठकका एजेन्डाका बारेमा समेत दुई नेताबीच कुराकानी भएकाे छ ।

सभापति देउवा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पक्षमा छन् । कोइरालाले भने कांग्रेस एक्लै निर्वाचन लड्नुपर्ने अथवा तालमेलबारे निर्णय लिन स्थानीय समितिलाई नै अधिकार दिनुपर्ने बताउँदै आएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट तालमेलको पक्षमा सर्वसम्मत निर्णय लिन सभापति देउवाले पनि आन्तरिक छलफल अगाडि बढाएका छन् ।

देउवा र काेइरालाबीच केन्द्रीय समिति बैठक अगावै भेटेरै थप विषयमा छलफल गर्ने सहमति पनि बनेकाे बताइएकाे छ । केन्द्रीय समितिको बैठकबाट संसदीय समितिसमेत बनाइँदैछ । शेखरले पार्टीको विधानअनुसार हुने निर्णयमा आफ्नो साथ रहने बताउँदै आएका छन् । महाधिवेशनपछि उनले पार्टीको विधान र कार्यकर्तालाई न्याय हुनेगरी निर्णय भएमा आफूलाई भागबन्डा नचाहिने बताएका थिए ।

केन्द्रीय समिति बैठकअघि देउवा र काेइरालाबीचकाे लामाे समयकाे संवादहीनता ताेडिनुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ । शुक्रबार बस्ने बैठकमा स्थानीय निर्वाचनका बारेमा विशेष छलफल गर्ने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =