एमालेले गर्‍याे जसपालाई गठबन्धनकाे प्रस्ताव, सम्भावना कति ?

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] ले सत्ता साझेदार दल जनता समाजवादी पार्टी [जसपा] लाई गठबन्धनकाे प्रस्ताव गरेकाे छ । यसका लागि मंगलबार अपराह्न एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईनिवास टाेखा पुगेका थिए । त्यसक्रममा गुरुङले साे प्रस्ताव गरेका हुन् ।

भट्टराईनिकट एक नेताकाअनुसार गुरुङले ‘गठबन्धन बनाएर मिलेर जाऔँ’ भनेर प्रस्ताव गरेका थिए । गुरुङलाई उद्धृत गर्दै ती नेताले भनेका छन्, ‘राष्ट्रिय राजनीति ठिक दिशामा गएकाे महसुस एमालेले गरेकाे छैन । तपाईं-हामी शान्ति, समृद्धि र सामाजिक न्याय चाहने दलहरू मिलेर चुनावमा हाेमिऔँ । यसले समग्रलाई राम्राे गर्छ । यसलाई मनन गर्नुस् ।’

जवाफमा भट्टराईले छलफल, बहस तथा भेटघाट भइरहनुपर्ने उल्लेख गर्दै साे प्रस्तावलाई सकारात्मक रूपमा लिएकाे गुरुङलाई सुनाएका थिए । ‘दलहरूबीच छलफल तथा भेटघाट भइरहनुपर्छ,’ भट्टराईले भनेका छन्, ‘तपाईंकाे प्रस्तावलाई सकारात्मक रूपमा लिएका छाैँ ।’

भट्टराईले भेटपछि चिया गफमात्रै भएकाे उल्लेख गर्दै एउटा तस्बिर साझेदारी गरेका छन् । उनले लेखेका छन्— ‘गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग रमाइलाे चियागफ । प्रदेशको विकास रणनीतिबारे उपयोगी छलफल ।’ भेटमा भट्टराईपत्नी तथा जसपा नेतृ हिसिला यमीसमेत थिइन् ।

एमालेले आसन्न स्थानीय निर्वाचनसम्म सत्ता गठबन्धन रहनु नहुने बताउँदै आएकाे छ । ऊ गठबन्धन टुटाउन चाहन्छ । केही दिनपहिले मकालुखबरसँगकाे गरेकाे कुराकानीका क्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले भनेका थिए— ‘दूषित गठबन्धन रहनु हुन्न । यसले देशलाई केही दिएकाे छैन । अजै जिते पनि केही गर्दैन । सिन्काे भाँच्दैन ।’

सम्भावना ?

जसपा नेता रामसहायप्रसाद यादव एमालेसँग तत्कालका लागि गठबन्धनकाे सम्भावना देख्दैनन् । ‘अहिले त कसरी गठबन्धन हाेला र ?,’ नेता यादवले भने, ‘पछि भन्न सकिन्न, तर अहिलेचाहिँ गठबन्धन नहाेला । पार्टीले भन्ने/ गर्ने कुरा अर्काे हुनसक्ला । तर, मचाहिँ व्यक्तिगत रूपमा यसाे हुँदैन भन्छु । म सम्भावना देख्दिनँ ।’

त्यसाे त सत्ता गठबन्धनबाटै अगाडि जाने नेताहरूले बताउँदै आएका छन् । अर्का एक जसपा नेताले मकालुखबरसँग भने— ‘ओलीविरुद्ध बनेकाे गठबन्धनबाट निस्केर फेरि ओलीसँग जानु त भएन नि । जसपा गठबन्धनमै रहेर निर्वाचनमा जान्छ । एमालेसँग गठबन्धन गर्दैन ।’

भाैतिक पूर्वाधारमन्त्री समेत रहेकी जसपा नेतृ रेनुकुमारी यादव पनि अहिले एमालेसँग गठबन्धनकाे सम्भावना नरहेकाे औंल्याउँछिन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्— ‘सम्भावना देख्दिनँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =