पीएनजीमाथी नेपालकाे ७ विकेटको जित, आरिफ र कुशलको अर्धशतक

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले पीएनजीलाई ७ विकेटले हराएको छ । म‌ंगलबार यूएईमा भएको खेलमा  पाएको १७४ रनको लक्ष्य नेपालले ३७ औँ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेकाे हाे ।
नेपालको जितमा आरिफ शेख र कुशल मल्लको अर्धशतकको महत्वपूर्ण भूमिका रह्यो । आरिफ ५९ रनमा अविजित रहँदा कुशलले ५० रन पूरा गरे । रोहित पौडेल ४४ रनमा अविजित रहे ।

आरिफले १०२ बलमा चार चाैका प्रहार गरे । यो उनको पहिलो अर्धशतक हो । कुशलले  ६४ बलमा ४ चौका र १ छक्कासहित करिअरको दोस्रो अर्धशतक पूरा गरे । कुशल र आरिफले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । आरिफले चाैथो विकेटका लागि रोहितसँग अविजित ७७ रनको साझेदारी गरे ।

ओपनर आशिफ शेख २ रनमै आउट भए भने दिपेन्द्रसिंह ऐरीले रनको खाता खोल्नै सकेनन् । आज डेब्यु गरेका भीम सार्कीले भने ब्याटिङ गर्नै पाएनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएकाे थियो ।

कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिए । यस्तै, करण केसी, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिएका थिए ।

यो जारी त्रिदेशीय शृंखलामा नेपालको अन्तिम खेल हो । यसअघि पीएनजीलाई दुई विकेटले हराएको नेपाल यूएईसँग भने दुबै खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *