यूएईसँग नेपाल फेरि पराजित, ब्याटिङको भएन भरोसा

एकदिवसीयमा नेपालको न्यून स्कोर

काठमाडौँ । एकदिवसीय विश्वकप लिग टू क्रिकेटमा नेपाल यूएईसँग फेरि पनि पराजित भएको छ । यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभरमा १०३ रनमै अलआउट हुँदै ९९ रनले पराजित भएको हो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । आरिफ शेख र सोमपाल कामीले समान १५– १५ र बिनोद भण्डारीले १२  रन बनाउनुबाहेक कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दोस्रो ओभरदेखि विकेट गुमाउन थालेको नेपालले कुनै बेलापनि खेल जित्ने आशा कायम राख्न सकेन । पाँचौँ विकेटका लागि ज्ञानेन्द्र र आरिफले ३३ रनको साझेदारी गर्नुबाहेक कुनै साझेदारी पनि सम्झन लायक रहेन ।

कुनै पनि ब्याटरले भरोसायोग्य ब्याटिङ गर्न नसक्दा यूएईसँग बदला लिने नेपालको सपना यसपटक पनि पूरा हुन नसकेको हो ।

यो नेपालको एकदिवसीय क्रिकेटको सर्वाधिक कम रन पनि हो । २५ जनवरी २०१९ मा युएईसँगकै खेलमा नेपाल ११३ रनमा नै समेटिएको थियो । जुन एकदिवसीय क्रिकेटमा नेपालको अहिलेसम्मको कम स्कोर थियो । नेपालले आज त्यो खराब प्रदर्शनलाई पनि भुलाउने गरिको खराब प्रदर्शन गरेको हो ।

आज तीन खेलाडी परिवर्तन गरेको नेपालले ओपनिङ ब्याटरका रुपमा कुशल भुर्तेल र पवन सर्राफलाई पठाएको थियो । तर यो रणनीति पनि काम लाग्न सकेन । दोस्रो ओभरमै कुशल ५ रनमा आउट भए भने तेस्रो ओभरमा पवन २ रनमा आउट भए । लगत्तै अर्को बलमा दिपेन्द्रसिंह ऐरी शुन्यमा आउट भए ।

रोहित पौडेल ९ रन बनाएर आउट हुँदा नेपालको खातामा जम्मा २१ रन थियो । पाँचौ विकेटका रुपमा आरिफ १५ रनमा आउट भएपछि ब्याटिङका लागि आएका विनोद भण्डारी १२ रनमा रन आउट हुन पुगे ।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको थियो ।

नेपालका सन्दीप लामिछानेले ३ तथा करण केशी र सोमपाल कामीले दुई दुई विकेट लिएका थिए । यस्तै दिपेन्द्रसिंह ऐेरी र आरिफ शेखले एक एक विकेट लिए ।
यूएईका रोहन मुस्तफाले ६० रन बनाएका थिए ।

यहि शृंखलाको यसअघिको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । १६९ रनको लक्ष्य पछ्याएको नेपाल १२० रनमै अलआउट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *