माधवलाई प्रचण्डले भने- ‘कांग्रेसलाई नकुरी चुनावी तालमेलकाे तयारीमा जुटाैँ’

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चुनावी तालमेलकाे तयारीमा जुट्न प्रस्ताव गरेका छन् । प्रचण्डले कांग्रेसलाई नकुरीकन तालमेलकाे तयारीमा जुट्न प्रस्ताव गरेका हुन् । प्रचण्डले नेपाललाई फाेन संवादमार्फत यस्ताे प्रस्ताव गरेका हुन् ।

कांग्रेसलाई कुरेर बस्दाखेरि तयारीमा ढिलाइ हुनेतर्फ स्मरण गराउँदै प्रचण्डले यस्ताे प्रस्ताव गरेका हुन् । प्रचण्डलाई उद्धृत गर्दै एक नेताले भनेका छन्, ‘चुनाव नजिकिएकाे छ । यसतर्फ तपाईं-हाम्राे पार्टीले साेच्नुपर्ने बेला आएकाे छ । कांग्रेसलाई नकुरीकन चुनावी तालमेलकाे प्रक्रियमा जानुपर्ने हुनसक्छ, यसका लागि तयारीमा अवस्था बस्नुपर्ने हाे कि ।’

कांग्रेसभित्र स्थानीय निर्वाचनमा गठबन्धनबाट अघि बढ्ने विषयमा विवाद छ । प्रधान मन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले गठबन्धनबाटै अगि बढ्ने बताउँदै आएपनि उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापालगायतका नेताहरूले कांग्रेस एक्लै चुनाव लड्ने बताउँदै आएका छन् । यसअघि प्रशिक्षण भेलामा लुम्बिनी पुगेका प्रचण्डले ‘कांग्रेसका केही नेताहरूले अतिवादी कुरा गरिरहेका छन्’ भनेर टिप्पणी गरेका थिए ।

यसपछि उनले एकीकृत समाजवादी अध्यक्ष नेपालसँग यस्ताे प्रस्ताव गरेका हुन् । उनले भए गठबन्धनसँग नभए पनि आफ्नै बलबुतामा चुनाव लड्न नेता/कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

माधवले थाले पार्टीमा छलफल

प्रचण्डले प्रस्ताव गरेपछि नेपालले भने पार्टीमा छलफलसमेत थालेका छन् । यसअघि आजै बिहान साँखुमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बाेधन गर्दै नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका छन् ।

अध्यक्ष नेपालले भनेका छन्— ‘प्रचण्डजीले टेलिफोन गरेर कांग्रेसले निर्णय लिन ढिलो गर्‍यो, हामी छलफल गराैँ र अघि बढाैँ भन्नुभएको छ । कांग्रेस नआएपनि चुनावी तालमेलको खाका बनाउन प्रचण्डीले भन्नुभएको छ ।’

यद्यपि कांग्रेस पनि तालमेलकै पक्षधर रहेकाे बताए । ‘शेरबहादुरजी रामचन्द्रजीहरू चुनावी तालमेलकै पक्षमा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘आजै पनि प्रधान मन्त्रीसँग तालमेलबारे कुराकानी हुनसक्छ ।’

नेपालले यसबारेमा पार्टीमा छलफलसमेत शुरू भएकाे बताए । ‘अझै धेरै छलफल गर्न आवश्यक छ । ठिक निर्णय लिन आवश्यक छ,’ अध्यक्ष नेपालले भनेका छन् ।

कांग्रेसले चुनावी तालमेलबारे छलफल गर्न चैत ११ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । तर, केही पदाधिकारीहरूले भने ‘घरघर जऔँ, कांग्रेस जिताऔँ’ अभियानपछि मात्रै त्यसकाे निष्कर्ष पार्टीले निकाल्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =