राप्रपाले चैत २५ गते काठमाडौँको खुलामञ्चमा आमसभा गर्ने

यो हाम्रो शक्ति प्रदर्शन हुनेछ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । राजनीतिक दलहरूले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरू चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ । देशभर ठूला, मझौला र साना सभाहरू गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौँको खुलामञ्चमा आमसभा गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका अध्यक्षहरू सह संयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन् ।

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरू, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरू, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरू, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरू समितिमा रहेका छन् ।

आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । उपाध्यक्षहरू ध्रुव बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मूल समितिको पहिलो तयारी बैठक बसेको र बैठकले काठमाडौँमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =