धनगढीमा मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरू

उद्घाटन खेलमा कर्णाली प्रदेश विजयी

धनगढी । कैलालीको धनगढीमा आइतबारदेखि मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले विजयी शुरूवात गरेको छ । सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै कर्णालीले विजयी शुरूवात गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३।४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउनु सक्यो । सुदूरपश्चिमका लागि पवित्रा धामीले अविजित १० रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णाली प्रदेशकी एन्जीला थापाले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिइन् । सुदूरपश्चिम श्रीमी थारु, दीक्षा पुरी र तिर्सना विश्वकर्माले समान २/२ तथा विना थापाले १ विकेट लिइन् ।

त्यस अघि कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको शुरूवाती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डोर्याए । किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाएर आउट भइन् । बलिङ तर्फ सुदूरपश्चिमका लागि सावित्री धामीले ३ र मनीषा चौधरीले १ विकेट लिइन् । खेलको प्लेयर अफ दी म्याच कर्णालीकी एन्जिला थापा भइन् ।

नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए । ११ गतेसम्म चल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ ।

प्रतियोगिताको आइतबार एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का र धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । संघका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *