‘नेबिकोले ६ दशकअघि नेपालीलाई बिस्कुट चिनायो, खान सिकायो’

नेपालमा एउटा पुरोना पुस्ता छ, जो नेबिको भन्नासाथ ‘बिस्कुट’ सम्झिन्छ । अर्को पुस्ता छ नेबिको भन्नासाथ एउटा उद्योग सम्झिन्छ । अहिले तेस्रा पुस्ता नेबिको बिस्कुटकाे नयाँ नयाँ स्वाद चाख्दै छ । कम्पनीकाे इतिहासबारे जान्दै छ । स्थापनाको झण्डै ६ दशक लामो इतिहास बोकोको नेबिको नेपालमा बिस्कुटलाई आम प्रयोगमा ल्याउन सिकाउने कम्पनी हो भन्दा फरक पर्दैन । तर, केही समयअघि मात्रै यो कम्पनी आगलागी जस्तो विपद्बाट गुज्रिुन पर्यो । आगलागी भएको केही महिनापछि नै कम्पनीले थप ऊर्जाका साथ नयाँ नयाँ उत्पादन बजारमा ल्याउन थालेको छ । यही ऐतिहासिक कम्पनीको स्थापना, विकास र हालसम्मको यात्राबारे हामीले नेबिकोका ब्रान्ड एन्ड मार्केटिङ प्रमुख अरूण पौडेलसँग कुराकानी गरेका छौँः

एउटा इतिहास बोकेको बिस्कुट कम्पनी नेबिको केही समयअघि मात्रै आगलागी जस्तो विपद्बाट गुज्रिएको छ । यो दुर्घटनापछि पनि कम्पी पुनः नयाँ ऊर्जाका साथ सञ्चालनमा आएको छ । यो कसरी सम्भव भयो ?
यो आर्थिक वर्ष शुरू भएको केही दिनपछि नै अर्थात् साउनको २३ गते हाम्रो कम्पनीमा आगलागी भयो । त्यो हाम्रा लागि निकै ठूलो विपद्को दिन थियो । त्यो दिन रातमा लागेको आगो नियन्त्रणमा लिन मात्रै हामीले १४ घण्टा लाग्यो । यो घटनापपछि कम्पनीलाई कसरी अघि बढाउने भन्ने चिन्ता सबैमा थियो । कम्पनी, उपभोक्ता, शुभचिन्तक सबैमा यो चिन्ता थियो । कम्पनीमा आएर दैनिक काम गर्ने हामीलाई झनै ठूलो चिन्ता थियो । आगलागिको क्षतिलाई कसरी पूर्ति गर्ने कसरी चाँडो कम्पनीको उत्पादन सञ्चालनमा ल्याउने भनेर लागि पर्यौं । र, दुर्घटनाको डेढ महिनापछि नै हामीले नयाँ ऊर्जाका साथ कम्पनीलाई सञ्चालनमा ल्याउन सफल भयौँ । हाम्रो टिमको लगाब र कडा मेहनतका कारण नै यो सम्भव भएको हो ।

भिडिओ संवाद

केही समयअघि मात्रै यहाँहरूले ४ वटा नयाँ प्रडक्ट सञ्चालनमा ल्याउनु भएको छ । ती प्रडक्टबारे बताइदिनुस् न ।
हालसालै मात्रै हामीले चार नयाँ उत्पादन बजारमा ल्याएका छौँ । ती मध्ये डी–फिप्टी बिस्कुट छ । यसले व्यक्तिको पाचन प्रणालीमा सहयोग गर्ने किसिमको बिस्कुट हो । डाइजेस्टिभ बिस्कुट हो । यसको मूल्य ५० रूपैयाँ छ ।

नाइस मिल्क कुकीज दूधको स्वादमा हामीले बजारमा ल्याएका छौँ । यसको माग राम्रो देखेर बजारमा ल्याएका हौँ । यसको माग बजारमा अहिले बढिरहेको छ । मूल्य यसको पनि ५० रूपैयाँ नै हो । त्यस्तै, हामीले कुरुम–कुरुम चिउरा नाममा चिउरा ल्याएका छौँ । यो पनि उत्कृष्ट गुणस्तरको छ । यसको ८०० ग्रामको मूल्य ९५ रूपैयाँ रहेको छ । साल्टेड पिनट्स ल्याएका छौँ । बजारमा यसको प्रतिक्रिया पनि राम्रो पाएका छौँ ।

अब हामी उत्पादनमा विविधिकरण गर्दै छौँ । बिस्कुट र कुकीज वर्गभन्दा बाहिर खाद्यअन्तर्गत चिउरा, स्न्याक्सअन्तर्गत पिनट्स् ल्याएको छ । हामीले कन्फेक्सनरी पनि उत्पादन गरिरहेका छौँ । अझ धेरै वर्गका उत्पादन जाने हामीले लक्ष्य लिएका छौँ । नयाँ प्लान्ट हामीले स्थापना गर्दै छौँ । आगलागीभन्दा अघिको भन्दा पनि बढी क्षमतामा हामी उत्पादन शुरू गर्दै छौँ । हरेक घरमा नेबिकोको कुनै नै कुनै उत्पादन जाओस् भन्ने हामी चाहन्छौँ । हरेक नेपालीको घरबाट हामी माया पाउन थाहन्छौँ । ५८ वर्षदेखिको माया हामीसँग रहेको छ ।

नेबिको सञ्चालनमा आएको झण्डै ६ दशक हुन लागेको छ । यसको स्थापना र हालसम्मको यात्रा कसरी अघि बढ्यो संक्षिप्तमा बताइदिनुस् न ?
५८ वर्षअघि स्न १९६४ मा नेपालमा नेबिको बिस्कुट कम्पनी स्थापना भयो । खासमा भन्दा बिस्कुट के हो ? भनेर चिनाउने र नेपालीलाई खाजाको रूपमा बिस्कुट खान सिकाउने कम्पनी नै नेबिको हो । स्थापना कालदेखि नै नेबिकोले उपभोक्ताको असाध्यै ठूलो माया र विश्वास पायो । आफ्नो उत्पादनका गुणस्तरमा कुनै सम्झौता नगरेकोले पनि आम नेपाली उपभोक्ताको माया यो कम्पनीले पाउन सकेको हो । अहिले पनि नेबिकोले गुणस्तरलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

नेबिकोको उत्पादन विदेशमा पनि निर्यात हुने गरेको छ कि ?
नेबिको कम्पनी स्वयंले विदेशमा आफ्नो उत्पादन पठाउने गरेको छैन । यद्यपी, अमेरिका, अष्ट्रेलिया, जापान, भारतलगायत देशमा हाम्रा उत्पादन ऐजेन्टमार्फत पुगिरहेको छ । तर, हामी कम्पनी आफैँले विदेशमा कसरी निर्यात गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौँ । निकट भविष्यमै निर्यात समेत शुरू हुन सक्ने छ ।

पछिल्लो समय बजारमा कुनै ब्रान्ड चल्यो भने त्यसको नक्कल गर्दै अर्को उत्पादन निकाल्ने चलन छ । नक्कली उत्पादनले चाहिँ यहाँहरूको बजारलाई प्रभावित गरेको छ कि छैन ?
नेबिको भन्नेबित्तिकै नेपालको पहिलो बिस्कुट उत्पादन कम्पनी हो । बजारलाई नेतृत्व गर्ने कम्पनी भएकोले नै हाम्रा प्रडक्ट बजारमा बढी चल्ने गरेका छन् । त्यस्ता चलेका प्रडक्टको नक्कल गरेर बजारमा अन्य उत्पादन ल्याउन बिस्कुट कम्पनीहरू पनि छन् । एक दुई प्रडक्टमा हामीलाई यसले समस्यामा पनि पारेको छ । जस्तो, कोकोनट क्रन्चिज निकै चलेको ब्रान्ड हो । यो ब्रान्डको हुबहु देखिने गरी प्याकेजिङ गरेर बजारमा अर्को उत्पादन आयो ।

उपभोक्ता झुक्किएर हाम्रै ठानेर प्रयोग गर्नु भयो । अनि नेबिकोको गुणस्तर घट्यो भनेर प्रतिक्रिया पनि दिनु भयो । हामीले उपभोक्तालाई स्पष्ट भनेका छौँ । नक्कली उत्पादन प्रयोग नगर्नुहोला । नेबिकोको उत्पादका गुणस्तर घटेका छैनन् ।

कम्पनीका लागि आवश्यक कच्चा पदार्थको उपलब्धताको अवस्था कस्तो छ ?
हामीलाई चाहिने कच्चा पदार्थ मध्ये नेपालमा उपलब्ध भएका कच्चा पदार्थ नेपालकै प्रयोग गर्ने गरेका छौँ । मुख्य गरी मैदा, आटा, चिनी, फ्लेवर, घ्यु, तेल जस्ता कच्चा पदार्थ नै चाहिन्छन् । चिनी नै नेपालमा पर्याप्त छैन । पिठो र मैदा पनि विदेशबाट आयात हुने गरेको छ । धेरैजसो वस्तु पर्याप्त मात्रामा नेपालमा नपाइँदा विदेशबाट ल्याउनु पर्ने अवस्था छ ।

पछिल्लो सयम नेपालमा अन्तर्राष्ट्रिय बजारमा र नेपालमा पनि पेट्रोलियमको मूल्य बढेको छ । डलरसमेत महँगिएको छ । यस्तो अवस्थामा यहाँहरूको उत्पादनको पनि मूल्य बढाउनुपर्ने अवस्था आएको छैन ?
यो सही विषय हो । पेट्रोलियम र डरलको मूल्य बढ्दा यसको बहुआयामिक असर सबै क्षेत्रमा पर्छ । इन्धन र डलरको मूल्य बढ्ने बित्तिकै सबै क्षेत्रको मूल्य बढ्छ । हामीले प्रयोग गर्ने कच्चा पदार्थको मूल्य पनि बढेको छ । बढेकाे मूल्यअनुसार उत्पादन गरेर यही मूल्यमा उत्पादन बजार लाँदा त्यसबाट हुने नोक्सानी पूर्ति गर्न २–४ वर्ष नै लाग्न सक्ने अवस्था देखिन्छ । तर, तेल र डलरको मूल्य बढ्यो भन्दैमा हमी उत्पादनको मूल्य बढाइहाल्ने पक्षमा छैन । सकेसम्म कम नाफा लिएर वा लागत मूल्यमै भए पनि कम्पनीको उत्पादन सूचारु राख्ने हाम्रो चाहना छ ।

नेबिको जस्ता खाद्य उद्योगले भोगिरहनु परेको सरकारी नीतिगत समस्या केही छन् ?
हामीलाई चाहिने सम्पूर्ण गुणस्तरीय कच्चा पदार्थ नेपालमै उपलब्ध भइदिने हो भने निकै सहज हुन्थ्यो । अहिले बाहिरबाट आयात गर्दा, ढुवानी, भन्सार, एलसी खोल्ने शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने जस्ता विभिन्न समस्या छन् । अर्कोतर्फ विदेशबाट कच्चा पदार्थ ल्याएर तिनै देशका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसो हुँदा यी यस्ता समस्या समाधान सरकारले गरिदेओस् । नेपालमै उत्पादन भएका वस्तु विदेशबाट आउन निरुत्साहित गर्ने नीति सरकारले ल्याउनु पर्छ ।

खाद्य उद्योगका लागि आवश्यक मुख्य कच्चा चिजहरू कृषिबाट प्राप्त हुन्छ । यस्ता खाद्य उद्योगले आफैँ कृषि फार्म सञ्चालन गर्न कत्तिको उपयुक्त हुन्छ ?
हामी बिस्कुट लगायका उत्पादन गरिरहेका छौँ भने यसैमा हामी अझ सक्रिय हुँदै जाने सोचमा छौँ । आफैँले कृषि गर्ने सोचमा हामी छैनौँ । तर, यो क्षेत्रमा कोही न कोही लागोस् र हामीलाई आवश्यक कृषिजन्य कच्चा देशभित्रै प्राप्त होस् भन्ने चाहन्छौँ । यसका लागि सरकारले वातावरण बनाउन सक्छ ।

नेपालमा उत्पादनमूलक उद्योगले श्रम समस्या भोग्ने परेको गुनासो प्रशस्तै सुनिन्छ । नेबिकोमा कति जनाले रोजगारी पाउनु भएको छ र श्रम समस्या छ कि छैन ?
बाजाजु र भैरहवामा हाम्रो उत्पादन प्लान्ट छ । हामीसँग ४ सय भन्दा धेरै कर्मचारी हुनुहुन्छ । यसको अर्थ यो पनि हो कि यहाँ काम गर्ने कर्मचारी खुसी नै हुनुहुन्छ । यो उद्योगमा यहाँ श्रम समस्या भोग्नु परेको छैन ।

झण्डै ६ दशकको इतिहास बोकेको यो उद्योगलाई अझ विस्तार गर्न के कस्ता चुनौती छन् र आगामी योजना के छन् ?
पुरानो पुस्तालाई नेबिको के हो ? यसको गुणस्तर केहो भन्ने सबै थाहा छ । उहाँहरू माझ हाम्रो उत्पादन लोकप्रिय छ । तर, अहिलेका युवा, बालकहरूमा हाम्रो उत्पादन त्यति लोकप्रिय देखिँदैन । यो हाम्रो लागि चुनौतीको विषय हो । अब हामी युवा बला बालबालिकाको मन जित्न सक्ने गरी अघि बढ्नुपर्ने छ ।

खाद्य उद्योगले आफ्नो उत्पादन स्वस्थ छ भनेर उपभोक्तामा विश्वास जगाउन सक्नुपर्छ । नेबिकोको सन्दर्भमा उपभोक्ताको विश्वास कस्तो पाउनु भएको छ ?
झण्डै ६ दशकदेखि कम्पनी सञ्चालनमा रहन सक्नु भनेकै उपभोक्ताको विश्वासको कारण हो । हामीलाई बिस्कुट खान तपाइँहरूले सिकाउनु भयो । र नेबिकोको उत्पादन खाँदा हामीलाई ढुक्क लाग्छ भन्ने प्रतिक्रिया हामीले उपभोक्ताबाट पाएका छौँ । त्यसकारण यो विश्वासलाई अझ सबैमा फैलाउनु पर्ने छ ।

अन्त्यमा, नेबिकोको आम उपभोक्तालाई के सन्देश दिनुहुन्छ ?
हामी अझ परिस्किृत भएर अघि बढ्दै छौँ । उत्पादनको हाम्रो प्रविधि परिमार्जन गर्दै छौँ । नयाँ नयाँ किसिमका उत्पादन ल्याउँदै छौँ । नेपाली उत्पादन राम्रा हुँदैनन् भन्ने उपभोक्ता पनि हामीले देखेका छौँ । उहाँहरूलाई म के भन्न चाहन्छु भने नेबिकोको उत्पादन पहिला चाखिदिनुस् । अनिमात्रै नेपाली उत्पादनबारे धारणा बनाउनु राम्रो हुन्छ । नेबिकोको उत्पादन नचाखिकन यहाँहरूले नेपाली उत्पादन कमजोर हुन्छ भन्न मिल्दैन । आम उपभोक्ताको माया र विश्वासले नै हामीले अहिलेसम्मको यात्रा तय गरेका छौँ । हामीप्रति तपाइँहरूको यो विश्वास र भरोस् अझ कामय रहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *