विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक शुरू, स्थानीय निर्वाचनकाे उपयाेगबारे छलफल हुँदै

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय समिति बैठक शुरू भएकाे छ । स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान ८ बजे बस्ने भनिएकाे बैठक ढिलाेगरी शुरू भएकाे पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय लिने भएकाले चासोपूर्वक हेरिएको छ । गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन । याे बैठकले यही विषयमा छनाेफानाे गर्ने बताइएकाे छ ।
पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता प्रकाण्ड मात्रै उभिएका थिए । धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ यसको विपक्षमा थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए । पार्टीमा विप्लव र प्रवक्ता प्रकाण्डकाे पडक भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ ।








