कर्णाली प्रदेशको राजधानी ‘वीरेन्द्रनगर’ हरियाली सहर बन्दै

नगरपालिका र भू–संरक्षण विभागबीच द्विपक्षीय सम्झौता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत वीरेन्द्रनगर नगरपालिका हरित नगरको रूपमा विकास हुने भएको छ ।

‘शहरी वन विकास’ (बिरुवा उत्पादन खरिद, वृक्षारोपण, संरक्षण) कार्यक्रम अन्तरगत वीरेन्द्रनगर नगरपालिका र भू–संरक्षण विभागबीच द्विपक्षीय सम्झौता भएपछि वीरेन्द्रनगर नगरपालिका हरित नगरपालिकाको रूपमा विकास हुने सम्भावना बढेको हो ।

कर्णालीको एकमात्र सुगम नगरपालिकाको रूपमा रहेको वीरेन्द्रनगर नगरपालिका र विभागबीच ७५ लाख ४२ हजार २७६ रुपैयाँ रकम सहितको सम्झौता भएपछि वीरेन्द्रनगरलाई हरित नगरको रूपमा विकास गर्ने योजनाले सार्थकता पाएको हो ।

यो कार्यक्रम अन्तर्गत राजधानी शहर वीरेन्द्रनगरका सडक किनारमा वृक्षारोपण गरेर हरित शहरको रूपमा निर्माण गरिने नगरपालिकाले जनाएको छ । साझेदारीमा सहरी वन विकास कार्यक्रम संचालन कार्यविधि २०७७ अनुरूप कार्य गर्नुपर्ने छ । वीरेन्द्रनगर नगरपालिकालाई ग्रिनरी नगर बनाउने अवधारणा अनुरूप सडक किनारमा करौडौँ मूल्यका बिरुवा रोप्न थालिएको हो ।

अबको दुई वर्षमै वीरेन्द्रनगरलाई हरियाली पार्ने नगरपलिकाले लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको असार मसान्तमा सक्ने गरी काम भइरहेको छ । वीरेन्द्रनगरमा हाल निर्माण भइरहेका सबै सडक छेउमा गुलमोहर, तेजपत्ता लगायत जातका बिरुवा रोपेर सुर्खेतको वीरेन्द्रनगरलाई हरियाली पारिने नगर प्रमुख देवकुमार सुवेदीले जनाकारी दिए ।

वृक्षारोपण कार्य डिभिजन वन कार्यालय वा सवडिभिजन वन कार्यालयसँगको सहकार्यमा सम्पन्न हुनेछ । जसले वीरेन्द्रनगरको थप शोभा बढ्नेछ । सोहीअनुरूप वीरेन्द्रनगरका सडकहरू धमाधम चौडा पार्ने कार्य भईरहेको छ । वीरेन्द्रनगर नगरपालिकाले सडक पूर्वाधार विकासका कामहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

नगरपालिकाले थालेको ग्रिन सिटीको अवधारणा सफल हुने हो भने वातावरणीय हिसाबले पनि सुर्खेत स्वच्छ शहरमा परिणत हुनेछ । तर, यो सजिलो भने छैन । ग्रिनरी शहरको अवधारणमा नगर प्रमुख सुवेदीले ग्रिनरी सहर बनाउने काम जारी रहेको बताए ।

ग्रिनरीले वीरेन्द्रनगर सहरको थप शोभा बढ्नेछ, नगरप्रमुख सुवेदीले भने, ‘जहाँ ग्रिनरी वीरेन्द्रनगरमा आउने पर्यटकदेखि स्थानीयवासी सबैले आनन्द महसुश गर्नेछन् । वातावरिणय रूपले पनि स्वच्छ त हुने नै छ यसले सहरलाई धुलोधुवाँबाट बचाउँदै स्वच्छ हावा प्रदान हुनेछ ।’ नगरप्रमुख सुवेदीका अनुसार ग्रिनरी वीरेन्द्रनगर बनाउन चालू आर्थिक वर्षको असार मसान्तसम्म वीरेन्द्रनगरलाई हरियाली पार्ने काम सम्पन्न गर्नेगरी काम भइ रहेको बताए ।

तर, यो योजना कार्यान्वयनमा भने चुनौती देखिएको छ । जानकारहरूले यो राम्रो योजना भएपनि कार्यान्वयन गर्न नगरपालिका असफल हुन सक्ने बताएका छन् । ‘हिजो पनि सडकका किनारमा लाखाैँ रकम बराबरका रूख बिरुवा रोपिएका छन् । तीनको संरक्षणमा नगरपालिकाले लापरवाही गरेको छ ।’ नगरपालिका स्रोत भन्छ, ‘तर आवश्यक जनशक्तिको व्यवस्थापन गरेको खण्डमा यो असाध्यै राम्रो पक्ष हो ।’

सम्झाैताः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *