चुनाव चिह्नका लागि जिल्ला समितिकाे विवरण पेश गर्न साना दललाई आयाेगकाे पत्राचार
निर्वाचनमा खटिने कर्मचारीको २० लाखको दुर्घटना बीमा

काठमाडौँ । स्थानीय तहको आगामी निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेकाबाहेकका ७३ वटा राजनीतिक दलले निर्वाचन चिह्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेकाबाहेकका दलले स्वेच्छिक चिह्न लिएर उठ्नुपर्ने प्रावधान रहेकोमा अब निर्वाचन चिह्न दिने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसका लागि ७३ वटा राजनीतिक दलरूलाई आफ्नो दलको निर्वाचन चिह्न प्राप्त गर्न जिल्लास्तरको संगठन संरचना जिल्ला समितिको विवरण आउँदाे ६ गतेभित्र पेश गर्न पत्राचार गरिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए ।
यसपछि थप छलफल गरेर उनीहरूलाई पुरानै चिह्न उपलब्ध गराउने आयाेगले जनाएकाे छ ।
निर्वाचनमा खटिने कर्मचारीको २० लाखको दुर्घटना बीमा
आयोगले निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरेको छ । निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको आयोगका प्रवक्ता पौडेलले बताए ।
आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरू छपाइका लागि बिहीबार ६ वटा प्याकेजमा बोलपत्र पनि आह्वान गरेको छ ।
♦ याे पनि:
निर्वाचन आचारसंहिता : उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने (पूर्णपाठ)








